झापा । झापाको शिवसताक्षी नगरपालिका–४ बोलोचोकमा आज मुलुककै सबैभन्दा ठूलो सौर्य ऊर्जा परियोजनाको शिलान्यास भएको छ । संविधानसभाका अध्यक्ष एवं नेकपा (एमाले) संसदीय दलका उपनेता सुभाषचन्द्र नेम्वाङले १० मेगावाट विद्युत् उत्पादन गर्ने झापा इनर्जी लिमिटेडको वैदिक विधिपूर्वक आज शिलान्यास गरेका हुन्।
कार्यक्रममा संविधानसभाका अध्यक्ष नेम्बाङले आफ्नै हातले संविधान लेख्ने जनताको चाहना पूरा भएपछि अब मुलुकको आर्थिक समृद्धिका लागि जनसहभागितामा आधारित यस्ता परियोजनाले ठूलो योगदान पु¥याउने बताए । झापा निर्वाचन क्षेत्र नं ४ का प्रतिनिधिसभा सदस्य लालप्रसाद साँवाको परिकल्पनामा तीन वर्षअघि यो सौर्य ऊर्जा परियोजना सुरु भएको थियो । रु ८० करोडको कूल लागत रहने यस परियोजनामा ३० प्रतिशत पब्लिक शेयर रहने र बाँकी ७० प्रतिशत लगानी माछापुच्छ्रे बैंकले गर्ने झापा इनर्जी लिमिटेडका अध्यक्षसमेत रहेका सांसद साँवाले बताए ।
नेपाल सरकारबाट विद्युत् उत्पादन अनुमति र नेपाल विद्युत् प्राधिकरणसँग विद्युत् बिक्री सम्बन्धी पीपीए सम्झौता गरिसकेको झापा इनर्जीले सोलार प्यानल राख्नका लागि शिवसताक्षी नगरपालिका–४ बोलोचोकमा २१ बिगाहा सात कठ्ठा जग्गा खरिद गरिसकेको छ ।