इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटको नयाँ टोली अहमदावादको फ्रेन्चाईज नाम सार्वजनिक भएको छ। अहमदावादले आफ्नो फ्रेन्चाईज नाम ‘अहमदाबाद टाइन्टस’ राखेको छ। यस्तै अहमदावादलाई हार्दिक पाण्ड्याले कप्तानी गर्नेछन्।
सिभिसी क्यापिटल्स पार्टनरले ५ हजार २ सय करोड भारतीय रूपैयाँमा अहमदावाद टिम खरिद गरेको हो। सिभीसी क्यापिटल युरोप, एशिया र अमेरिकामा आफ्नो ब्यापारलाई फैलाएर बसेको छ। यसअघि यो घरानाले फर्मुला वनमा लगानी गरेको थियो। यस्तै ला लिगामासमेत आफ्नो सेयर किनेको छ।
यो टिमको घरेलु मैदान विश्वको सर्वाधिक ठूलो रंगशाला नरेन्द्र मोदी स्टेडियम हुनेछ। जसका क्षमता १ लाख २० हजार रहेको छ। आगामी मार्च अन्तिम साताबाट सुरू हुने आइपिएलमा यसपालिदेखि १० वटा टिमले सहभागी जनाउनेछन्। यस अघि ८ टोलीले खेल्दै आएका थिए ।
आईपीएलमा पहिलो पटक १० टिम सहभागी हुन् लागेका भने होइन। यसअघि सन् २०११ मा १० टिम सहभागी थिए। त्यो बेला पुने वारियर्स र कोच्ची टस्कर्सलाई समावेश गरिएको थियो। कोच्चीलाई विवादपछि एउटा सिजन पछि हटाइएको थियो। २०१४ पछि पुनः आईपीएलमा ८ टिम खेल्न थालेका थिए।
नयाँ संस्करणको मेगा अक्सन आगामी फेब्रुअरी १२ र १३ मा बैंगलोरमा हुनेछ।