काठमाडौँ - अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष पंकजविक्रम नेम्वाङसहितका नवनिर्वाचित पदाधिकारी र सदस्यहरुले आज शपथ लिंदैछन्। शपथ ग्रहणको कार्यक्रम आज साँझ पाँच बजे एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने एन्फाले जनाएको छ।
सोमबार भएको एन्फाको निर्वाचनबाट अध्यक्ष पदमा पंकजविक्रम नेम्वाङ विजयी भएका थिए। वरिष्ठ उपाध्यक्षमा विरबहादुर खड्का तथा उपाध्यक्षमा दावा लामा, दीपक खतिवडा, विराटजंग शाही र दीर्घबहादुर केसी विजयी भएका थिए।
यसैगरी दुई जना केन्द्रीय सदस्य टुंगो लाग्न बाँकी छ। १३ सदस्यीय खुल्लाका लागि ३२ जनाले प्रतिस्पर्धा गरेकोमा दीपक थापा क्षेत्री, दीपेन्द्र धिमाल, रुपेश अधिकारी र लोकेन्द्र गुरुङले समान ३९ मत प्राप्त गरेका थिए। बराबर मत प्राप्त गरेका यी चार जना मध्ये दुई जना केन्द्रीय सदस्य बन्नेछन्। आगामी साधारणसभाबाट दुई जना केन्द्रीय सदस्य चुन्ने एन्फाले जनाएको छ।