काठमाडौँ - संघीय संसद्का सदस्यले 'लोगो' लगाउन पाउँछन्। 'लोगो' का आधारमा उनीहरूलाई संसद् भवनभित्र प्रवेश सहज हुन्छ। संसद् भवनभित्र प्रवेश गर्दा 'लोगो' नदेखेमा सुरक्षाकर्मीले सोधपुछ गर्न सक्छन्। त्यसैले सांसदले अनिवार्य लोगो लगाएर संसद् भवन प्रवेश गर्नुपर्ने हुन्छ। द्विसदनात्मक संघीय संसद्मा प्रतिनिधिसभा र राष्ट्रियसभा छन्।
मंसिर ४ मा भएको निर्वाचनपछि नयाँ प्रतिनिधिसभा गठन भएको छ। प्रतिनिधिसभा दुई सय ७५ सदस्यीय छ। राष्ट्रियसभा स्थायी प्रकृतिको हुन्छ। ५९ सदस्यीय राष्ट्रियसभामा प्रत्येक दुई वर्षमा एक तिहाइ सदस्य फेरिन्छन्। अहिले सांसदका लागि भनेर चार सय 'लोगो' बनाइएको छ। प्रतिलोगोको मूल्य ५६ सय परेको छ। चार सय 'लोगो' बनाउन २२ लाख ४० हजार खर्च लागेको संसद् सचिवालयले जनाएको छ।
अघिल्लो प्रतिनिधिसभाका सदस्यहरूले लिएका 'लोगो' अझै फिर्ता गरेका छैनन्। राष्ट्रियसभामा दुई वर्षे कार्यकाल र चार वर्षे कार्यकालमा परेर बिदा भएका सांसदले पनि अझै 'लोगो' फिर्ता गरेका छैनन्।
नागरिक दैनिकबाट