काठमाडौँ - विश्वकै ठूलो फिल्म बजार चीनले बहुप्रतीक्षित हलिउड फिल्म ‘अवतार २’लाई प्रदर्शनको अनुमति दिएको छ। वितरण कम्पनी ट्वेन्टिथ सेन्चुरी स्टुडियोले चिनियाँ सामाजिक संजाल वेइबोमार्फत यसबारे जानकारी दिएको हो।
‘अवतार २’ सँगै अर्को हलिउड फिल्म ‘मिनिओस’ सिक्वेल र सोनीको ‘ह्वेयर द क्रडास सिंग’ले चीनको मेनल्यान्डमा प्रदर्शन अनुमति पाएका छन्।
यसैबीच, भारतमा फिल्मको अग्रिम टिकट विक्री सुरु भएको छ र राती १२ बजे पहिलो शो निर्धारण गरिएको छ। नेपालमा पनि फिल्म पुस १ गते रिलिज हुँदैछ।
सन् २००९ मा अवतारको पहिलो श्रृंखला रिलिज भएको थियो। प्रदर्शनको १३ वर्षपछि दर्शकमा दोस्रो श्रृंखलालाई लिएर व्यापक उत्साह छ। निर्देशक जेम्स क्यामरुनले ‘अवतार २’लाई संसारकै महंगोमध्येको एक फिल्म बताएका छन्।
उनका अनुसार फिल्मले लगानी उठाउन मात्र २ बिलियन डलर कमाइ गर्नुपर्नेछ।