काठमाडौँ - पाल्पाको पूर्वखोला गाउँपालिकाको ‘एक घर एक धारा’ अभियानअन्तर्गत घरघरमा खानेपानी पुगेको छ।
घरदैलोमै खानेपानीको सुविधा पुगेपछि स्थानीयवासी खुसी भएका छन्। गाउँपालिका अध्यक्ष नुनबहादुर थापाले गाउँमा खानेपानी समस्याले गाउँ छाडेर अन्यत्र जाने क्रम पनि रोकिने बताए। गाउँपालिकाले पहिलो प्राथमिकता दिएर प्रदेश र संघीय सरकारको समन्वय र सहयोगमा एक घर एक धारा अभियानलाई सफल बनाउन जुटेको हो। उनले गाउँपालिकाभित्र ८० प्रतिशत घरधुरीमा निजी धारा जडान गरिएको बताएका छन्।
सरकारी निकायसँगै गोर्खा वयलफेर ट्रस, खानेपानी सरसफाइ डिभिजन कार्यालय र फनबोर्डले गाउँपालिकाको एक घर एक धारा अभियानामा सहयोग गर्दै आएका छन्। पालिकाको वडा नंं १ सिलुवामा १६०, वडा नं २ जल्पामा १४५ र ३ रिङ्नेरहमा चारवटा खानेपानी योजनाबाट २०२ परिवारले घरमै खानेपानीको सुविधा पाएका छन्। घरमै खानेपानीको सुविधा भएपछि गाउँमा तरकारी खेती बढेको छ।
अहिले व्यावसायिक रूपमै फार्म दर्ता गरेर तरकारी खेतीमा लागेको उपभोक्ता टेकबहादुर बाह्रघरेले बताए। अधिकांश मगर बस्ती रहेको वडा नं ४ देवीनगरमा १३० घरपरिवारले नयाँ धारा जोडेका छन्। घरमै धारा भएपछि सुखको दिन आएको, बालबालिकाले पढ्न समय पाएको, गाउँमै सहरबजारजस्तै सुविधा पाएको कुमारी घर्तीमगरको भनाइ छ।
पूर्वखोला– ५ वीरकोटमा ९७ र वडा नं ६ हेक्लाङ्गमा १८० घरपरिवारमा नयाँ खानेपानी धारा जडान भएको जनाइएको छ। गाउँपालिकाले आउँदो असार मसान्तसम्ममा ९० प्रतिशत घरधुरीमा निजी धारा जडान गर्ने जनाएको छ।