काठमाडौं । ‘भ्वाइस अफ नेपाल’को सिजन ४’ का फाइनलिस्ट रिहान गिरीले नेपाली फिल्ममा डेब्यु गर्ने पक्का भएको छ । उनले केही दिनअघि ‘होस्टेल’को तेस्रो श्रृंखला साइन गरेका छन् ।
यसअघि एक फिल्ममा अनुबन्धित भएपनि भिसा प्रक्रियाको कारण उनी पछि उक्त प्रोजेक्टबाट बाहिरिएका थिए । सशान (सन्तोष) कँडेलले निर्देशन गर्ने यो फिल्मका लागि गिरी बेलायतको सांगीतिक टूर छोट्टाएर साउन पहिलो साता काठमाडौं आउँदैछन् ।
भुटानी नागरिक रिहानले ‘भ्वाइस अफ नेपाल’को चौंथो सिजनमा दमदार प्रस्तुति दिएका थिए । हिमालय टिभीको उक्त रियालिटी शोपछि उनको चर्चा नेपाल र भारतमा खुबै चल्यो । उनी रक र सफ्ट-रक जनराको गायनमा चर्चित छन् ।
भदौदेखि छायांकन सुरु हुने फिल्मका अन्य कलाकारका सामाजिक संजालकी कन्टेन्ट क्रिएटर सिम्रन पन्त र भारतको सिक्किमका कमेडियन पदम तामाङ पनि अनुबन्धित भएको जनाइएको छ ।
फिल्ममा रिहानको संलग्नताबारे निर्देशक कँडेलले दुबै मुलुकका लागि यो लाभदायक हुने बताए । फिल्ममा उनले मानव नामक चरित्र निर्वाह गर्नेछन् । ‘हामीले एकदमै फ्रेस महसुस हुने कलाकारको आवश्यकता देख्यौं, सोही कारण फिल्ममा रिहान जोडिएका हुन्’ कँडेलले भने ।