काठमाडौँ। शुक्रबारबाट सर्वोच्च अदालत आफ्नो लयमा फर्किएको छ। आजबाट कानून व्यवसायीहरु बहसरपैरवीमा फर्किए सँगै नेपाल बार र हड्ताली न्यायाधीशहरुको कारण अवरुद्ध रहँदै आएको सर्वोच्च अदालत आजबाट लयमा फर्किएको हो।
अदालतलाई अन्योलग्रस्त पार्न दिनप्रतिदिन नयाँ माग राखेर आन्दोलनरत नेपाल बार पछिल्लो समय जनताको नजरमा गिरेसाँगै आफ्ना अराजक गतिविधिबाट पछि हटेर आजबाट अधिवक्ताहरु नियमित बहस तथा पैरवीमा फर्किएका छन्।यस्तै, आफ्नो नाटकमञ्चन पतन गए अरु नाटक देखाउन नसक्ने अवस्था आएसँगै हड्ताली न्यायाधीशहरु पनि आजबाट इजलाशमा फर्किएका छन्।
जनस्तरबाट हजारौं जनता न्याय पाउने अधिकारबाट बञ्चित गराएको र अदालतलाई अराजकताको अड्डा बनाएको भनेर बारको र न्यायाधीशहरुको चर्को बिरोध र आलोचना भएपछि बार र न्यायाधीशहरु पछि हट्न बाध्य भएका हुन्।
बारका पूर्व अध्यक्षहरु शम्भु थापा, रमनकुमार श्रेष्ठ, प्रेमबहादुर खड्का लगायतले उचालेर अनुचित माग राखेर गरिएको आन्दोलन अन्ततः असफल भएको छ। उनीहरुले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथि राजीनामा मागेर दबाब बढाएका थिए । तर, प्रधानन्यायाधीश जबराले भने आफू संवैधानिक प्रक्रियाबाट आएकोले हटाउने भए संवैधानिक बाटो अख्तियारी गर्न सार्वजनिक चूनौति दिएका थिए।
उनी टसमस भएनन् । उनले कुनैपनि शक्तिसँग आफू नझुक्ने र आफ्नो शक्ति भनेको संविधानले दिएको अधिकार भएको भन्दै अडानमा बसेका थिए।
प्रधानन्यायाधीशले शुरुआत देखि नै गोला प्रणाली लागु गर्न पहल गरेका थिए तर,गोलाप्रथा लागु हुँदासमेत अत्तो थापेर बहानाबाजी गर्ने हड्ताली न्यायाधीशहरुले नै त्यसलाई हुन दिएका थिएनन्। यस्ता अनेकन तथ्य जसले आन्दोलनको निहित निजी स्वार्थ देखाउछ ती तथ्य मिडिया मार्फत बाहिर आउन थाले पछि हड्ताली न्यायाधीशहरु बचाउमा बहसमा फर्किएका हुन्।
आजबाट हड्ताली न्यायाधीशहरुका नाईके न्यायाधीश दीपककुमार कार्की पनि बहसमा फर्किएका छन्। उता, शम्भु थापाले पनि आजबाट बहस सुरु गरेको पाईएको छ।