काठमाडौँ । राष्ट्रपति विद्यादेवि भण्डारीले नेपालका विभिन्न स्थान एवं समुदायमा मनाइने माघे सङ्क्रान्ति एवं माघी पर्वका अवसरमा स्वदेश एवं विदेशमा रहेका सबै नेपालीहरुमा शुभकामना व्यक्त गरेकी छिन् । उनले शुभकामना सन्देश जारी गर्दै देश तथा विदेशमा रहेका समस्त नेपाली दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति, सुस्वास्थ्य र समृद्धिका लागि हार्दिक मङ्गलमय शुभकामना व्यक्त गरेकी हुन् ।
यस पर्वका अवसरमा नेपालका विभिन्न जातजातिले हर्षोल्लास पूर्वक मनाउने परम्परा एवं थारु समुदायमा माघी पर्वलाई नयाँ वर्षका रुपमा मनाइने प्रचलन रहेको उल्लेख गर्दै उनले नेपाली समाजलाई राष्ट्रिय एकताको भावनामा आवद्ध गर्न यस पर्वले योदान दिएको बताएकी छिन् । यसका साथै उनले कोभिड-१९ महामारीले निम्त्याएको जटिल अवस्थामा स्वास्थ्य मापदण्ड अपनाएर आफ्नो स्वास्थ्यको ख्याल गरी यस पर्वलाई मनाउन आह्वान पनि गरेकी छिन् ।
राष्ट्रपतिको सन्देशमा लेखिएको छ, "सूर्य उत्तरायण हुने प्रक्रियासँग सम्बन्धित हुनाले माघी अर्थात् माघे सङ्क्रान्ति पर्वले नेपाली जनजीवन र प्रकृतिको निकटतालाई दर्शाउँछ । हाम्रा धेरै पर्व यसै गरी प्रकृतिसँग अन्योन्याश्रितरूपले जोडिएका छन् । नेपाली समाज प्रकृति र संस्कृतिको सुन्दर सङ्गम भएको हुनाले हाम्रा व्यवहार पनि प्रकृतिमैत्री र वातावरण संरक्षणउन्मुख हुनुपर्दछ भन्ने अन्तर्निहित सन्देशलाई हामीले आत्मसात् गर्नुपर्छ ।"
उनले प्राचीन समयदेखि हस्तान्तरण भइ आएका यस्ता पर्वहरुले मुलुकको सांस्कृतिक र जातीय विविधतालाई आपसमा जोडेर साझा नेपाली पहिचान निर्माण गर्न उल्लेख्य योगदान गरेको पनि उनले सन्देशमा उल्लेख गरेकी छन् ।