काठमाडौँ - बार्सिलोनाका स्ट्राइकर ओस्मान डेम्बेलेले क्लबमा आफ्नो सुरुवाती ५ सिजन खेर फालेको बताएका छन्।
फ्रान्सेली विंगर डेम्बेले जर्मन क्लब बोरुसिया डर्टमण्डबाट सन् २०१७ मा बार्सिलोना पुगेका थिए। तर, उनलाई त्यहाँ अनुकुल हुन लामो समय लाग्यो। गत सिजनदेखि मात्र उनी खेलाडीका रुपमा बार्सिलोनाबाट खेल्न थालेको प्रतीत हुन्थ्यो।
स्पेनिस सञ्चारमाध्यम आरएमसीसँगको कुराकानीमा उनले आफ्नो करिअरका बारेमा स्मरण गरेका छन्। उनले स्वीकार गरेका छन् कि आफ्नो करिअर अझै राम्रो हुन सक्थ्यो। यद्यपी उनी अझै युवा छन् र अन्तिममा सही बाटोमा आएका छन्।
‘म अन्य मानिसहरुजस्तै युवा थिएँ,’ बार्सिलोना आगमनका सुरुवाती वर्षमा उनको जीवनशैलीबारे सोधिएको प्रश्नमा उनले भनेका छन्, ‘तर, म त्यो अवस्थाबाट अगाडि बढ्न सफल रहेँ। सन् २०१७ देखि २०२१ सम्म मैले धेरै समय बर्बाद गरेँ। मैले आफ्नो जीवनको पाँच वर्ष गुमाएको छु।’
फ्रान्सेली राष्ट्रिय टिमका सदस्य उनले त्यो समयमा धेरैपल्ट चोटबाट संघर्ष गरिरहे। उनले आवश्यक मात्रामा प्रशिक्षण नपाएका कारण धेरै चोट लागेकोसम्म आरोप लागेको थियो।
‘मलाई ह्याम्स्ट्रिङको चोट थियो। यदि तपाईंले कडा मिहिनेत गर्नुहुन्न भने तपाईं फस्नुहुन्छ,’ उनले थपे, ‘रोनाल्ड कोम्यान र जाभीले मलाई निको हुन सहयोग गरे।’
डेम्बेलेका अनुसार अघिल्लो वर्षको डिसेम्बरमै उनी बार्सिलोनासँगको सम्झौता नवीकरण गर्नेबारे अनिर्णित थिए। त्यसका लागि जाभीले ठूलो भूमिका खेले। ‘जाभीको विश्वाससँगै मलाई पनि यहीँ बस्नुपर्छ भन्ने भयो। बास्तवमा म बार्सिलोनाबाट फेरि च्याम्पियन्स लिग जित्न चाहन्छु,’ उनले भनेका छन्, ‘अहिले म ठीक भइसकेको छु। बार्सिलोनाका लागि राम्रो प्रदर्शन गरिरहेको छु। टिमको विश्वास जितेको छु।’