काठमाडौँ - विश्व च्याम्पियन तथा फिफा वर्ष खेलाडी भइसकेका ब्राजिलियन रोनाल्डिन्होविरुद्ध एकै मैदानमा प्रतिस्पर्धाको अवसर खासै जुर्दैनन्। क्लबस्तरीय प्रतियोगितामा यो क्षण दुर्लभ नै मानिन्छ। नेपाली मिडफिल्डर रोहित चन्दले थोरै खेलाडीले पाउने रोनाल्डिन्होविरुद्धको खेल्ने अवसर पाएका छन्।
ट्रोफियो मैत्रीपूर्ण खेलमा ब्राजिलियन खेलाडी रोनाल्डिन्हो र रोहित आबद्ध इन्डोनोसियाको पेर्सिक केडिरीबीच खेल भएको थियो। इन्डोनेसियामै भएको रोमाञ्चक मैत्रीपूर्ण खेलमा पेर्सिकले रोनाल्डोन्होको टोलीलाई टाइब्रेकरमा पराजित गरेको थियो। खेलपछि पेर्सिकमा आबद्ध सबै खेलाडीले रोनाल्डिन्होसँग मैदानमै फोटो खिचाए। मैदानमा खेलाडीहरूले थोरै समय रोनाल्डिन्होसँग कुराकानीको अवसरसमेत पाएका थिए।
यसैक्रममा नेपालका स्टार मिडफिल्डरले रोनाल्डिन्होसँग फोटो मात्र खिचाएनन, केही समय कुराकानी पनि गरे। रोहितले यसै अनुभव आइतबार सामाजिक सञ्जालमा पोस्ट गरेका छन्। रोहितले रोनाल्डिन्होसँग खेल्न पाउनु करिअरकै ठूलो अवसर भएका रूपमा प्रतिक्रिया दिएका छन्।
‘विश्व फुटबलका महान् हस्ती रोनाल्डिन्होसँग मैदान सेयर गर्न पाउनु मेरा लागि एक अद्भुत अनुभव रह्यो,’ रोहितले फेसबुकमा लेखेका छन्, ‘जीवनमा मैदानमै उहाँसँगको भेट र खेल्न पाउला भनी कल्पना पनि गरेको थिइन। रोनाल्डिन्होको जादुमयी खेल हेर्दै हुर्किएँ, उहाँसँगै मैदान सेयर गर्नु ठूलो अनुभव र आशिषको कुरा हो,’ उनले भने।
रोहित लामो समयदेखि इन्डोनेसियामा व्यावसायिक फुटबल खेल्दै आइरहेका छन्। मालाङस्थित कान्जुरुहान रंगशालामा भएको मैत्रीपूर्ण प्रतियोगितामा पेर्सिकले दुई खेलमै जित निकाल्यो पेर्सिकले पहिलो खेलमा रोनाल्डिन्हो सम्मिलित रेन्स नुसनतारा एफसीलाई टाइब्रेकरमा ४-२ले र दोस्रो खेलमा एरेमा एफसीलाई टाइब्रेकरमै ५-४ ले हराएको थियो।
रोहितले रेन्स नुसनतारा एफसीविरुद्ध पहिलो रोजाइमा खेलेका थिए।
गत मार्चमा विश्वकप, कोपा अमेरिका कपसँगै क्लब फुटबलबाट थुप्रै उपाधि जितिसकेका रोनाल्डिन्होलाई इन्डोनेसियामा फुटबल खेल्न बोलाउने वाचा नुसनताराले गरेको थियो। सोही क्रममा रोनाल्डिन्होले इन्डोनेसियामा मैत्रीपूर्ण खेल खेल्न आएका थिए। ४२ वर्षीय रोनाल्डिन्होले बार्सिलोना, पिएसजी र एसी मिलानजस्ता चर्चित क्लबबाट व्यावसायिक खेलिसकेका छन्।