रिजवानलाई पछि पार्दै आईसीसी वरीयताको शीर्ष स्थानमा पुगे सूर्यकुमार यादव

काठमाडौँ - भारतीय क्रिकेटर सूर्यकुमार यादव टी-२० क्रिकेटको व्याटिङ वरीयतामा शीर्ष स्थानमा पुगेका छन्। अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले पछिल्लो पटक अपडेट गरेको टी-२० वरीयतामा सूर्यकुमारले पाकिस्तानका विकेटकिपर ब्याटर मोहम्मद रिजवानलाई पछि पारेका हुन्।

अष्ट्रेलियामा भइरहेको टी-२० विश्वकपमा सूर्यकुमार उत्कृष्ट लयमा छन्। उनले सुरावती ३ खेलमध्ये २ खेलमा अर्धशतक प्रहार गरिसकेका छन्। पहिलो खेलमा पाकिस्तान विरुद्ध १५ रनमा आउट भएका सुर्यकुमारले त्यसपछि नेदरल्याण्ड्स विरुद्ध अविजित ५१ र दक्षिण अफ्रिका विरुद्ध ६८ रन बनाएका थिए।

सूर्यकुमार २०२२ मा टी-२० मा धेरै रन बनाउने खेलाडी समेत हुन्। उनले यस वर्ष १ शतक र ८ अर्धशतकसहित ९३५ रन बनाइसकेका छन्। सूर्यकुमार बाहेक दक्षिण अफ्रिकाका राइले रुसो र न्युजिल्याण्डका ग्लेन फिलिप्सले पनि वरीयतामा फड्को मार्दै शीर्ष दशमा समावेश भएका छन्।

रुसोले जारी विश्वकपमा बंगलादेशविरुद्ध शतक प्रहार गरेका थिए। उनी १७ स्थान माथि उक्लँदै आठौं स्थानमा पुगेका छन्। यस्तै श्रीलंका विरुद्ध शतक प्रहार गरेका फिलिप्स पाँच स्थान माथि उक्लँदै सातौं स्थानमा पुगेका छन्।

टी-२० को बलरतर्फ अफगानिस्तानका रासिद खान शीर्ष स्थानमा रहेका छन् भने श्रीलंकन वानिन्द हसरंगा दोस्रो स्थानमा उक्लेका छन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×