सप्तरी - सप्तरीको खडक नगरपालिकाको प्रमुखमा नेकपा (माओवादी केन्द्र) ले नगर प्रमुखमा पहिलो जित हासिल गरेको छ। नेकपा (एकीकृत समाजवादी) सँग गठबन्धन गरेर माओवादी केन्द्र नगर प्रमुखमा विजयी भएको हो। प्रमुखमा जयप्रकाश चौधरी ५,८८२ मत ल्याई निर्वाचित भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी निवर्तमान नगर प्रमुख जनता समाजवादी पार्टीका हेमायु हकले पाँच हजार ६७ मत ल्याए।
यसअघि जिल्लाको कुनै पनि स्थानीय तहको प्रमुख र उपप्रमुख पदमा माओवादी केन्द्रले जित्न सकेको थिएन। माओवादी केन्द्रले नगरपालिकाको एउटा मात्र वडा नम्बर ६ मा जित हासिल गरेको छ। यस्तै उपप्रमुखमा जसपाकी रीताकुमारी चौधरी ६,२३१ मत ल्याएर निर्वाचित भएकी छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांंग्रेसकी यसमिन सुल्तान खातुनले ३,२१० मत ल्याइन्।
पराजित खातुन पनि निवर्तमान उपप्रमुख हुन्। नेकपा (एकीकृत समाजवादी) का शत्रुघ्नप्रसाद साह २,९४३ मत ल्याए। कूल ११ वडा रहेको खडक नगरपालिकामा जसपाले वडा नं २, ६, ९ र ११, कांग्रेसले वडा नं ३, ८ र १०, एकीकृत समाजवादीले वडा नं ४ र ५ तथा लोसपा र माओवादीले क्रमशः वडा नं १ र ६ मा जित हासिल गरेको छ।
कञ्चनरुपमा कांग्रेस
कञ्चनरुप नगरपालिकाको नगर प्रमुख र उपप्रमुखमा नेपाली काँग्रेस विजयी भएको छ। नगर प्रमुखमा कांग्रेसका ललनप्रसाद गुप्ता र उपप्रमुखमा मुनाकुमारी पोखरेल विजयी भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। गुप्ताले ७,८८९ मत प्राप्त गरे। उनका निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टीका भोलाकुमार पासवानले ५,७०४ मत ल्याए।
नेकपा (एमाले) का कलिम मियाँले ५,२०५ मत प्राप्त गरे यसैगरी उपप्रमुखमा निर्वाचित पोखरेलले ७,०७४ मत ल्याए। उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी कल्पना चौधरीले ५,५४७ मत प्राप्त गरेकी छन्। कूल १२ वडा रहेको कञ्चनरुपमा कांग्रेसले वडा नं २, ४, ५, ७ र ८, एमालेले ३, ६, ११ र १२ तथा जसपाले १, ९ र १० मा वडाध्यक्षमा जित हासिल गरेको छ।