बागमती नदी सफा राख्न अभियान चलाएर मात्र पर्याप्त हुँदैन - सहरी विकासमन्त्री गुरुङ

काठमाडौँ - सहरी विकासमन्त्री सीता गुरुङले बागमती नदीलाई स्वच्छ, सफा र हराभरा बनाउन सफाई र सौन्दर्यकरण अभियान चलाएर मात्रै पर्याप्त नहुने बताएकी छन्। उनले बागमती सफा पार्न आसपासमा बस्ने नागरिकले मन पनि सफा राख्नुपर्ने बताइन्। अधिकार सम्पन्न बागमतीसभ्यता एकीकृत विकास समितिको २९ औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै मन्त्री गुरुङले वाग्मतीमा जथाभावी फोहोर बिसर्जन गर्ने अभ्यासलाई रोक्नुपर्ने बताइन्।

‘हामीले बागमतीसफाई गर्न, स्वच्छ पार्न अभियान थालेको २८ वर्ष बितिसक्यो, वर्षौंदेखि हामी हरेक साता वाग्मतीबाट फोहोरको डंगुर झिकेर फ्याँकिरहेका छौं, तर अझै सफा भइरहेको छैन,’ मन्त्री गुरुङले भनिन्, ‘हामीले सधैं काम गर्ने, सरकारले लगानी गर्ने, तर परिणाम नआउने हुनुहुँदैन। वाग्मतीमा हामीले सफाई अभियान चलायौं, तर फोहोर फ्याँक्ने चलनलाई रोकेनौं। त्यसैले सबैभन्दा पहिले हामीले मन र मस्तिष्कबाट सफाई गर्नुपर्ने हुन्छ। जथाभावी फोहोर गर्न, फ्याल्न डराउनुपर्छ।’

मन्त्री गुरुङले बागमतीसभ्यता विकास थालनीको २९ औँ वर्ष लागेको भन्दै अबको वर्षलाई परिणाम देखाउने वर्ष बनाउन आग्रह गरिन्। उनले बागमतीनदी आसपासमा बसोबासका सन्दर्भमा देखिएको समस्याका विषयमा सरकार गम्भीर रहेको बताइन्। ‘हरेक नागरिकको व्यवस्थित बसोबास हामीले संविधानमा ग्यारेन्टी गरेका छौँ। आवासविहीनलाई आवासको सुविधा दिनु सरकारको दायित्व हो,’ उनले भनिन्, ‘हामीले यो कुरालाई पनि भुल्न हुँदैन।’
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×