काठमाडौं । सत्ता गठबन्धन दलका नेताहरूले तीनै तहको निर्वाचन एकै पटक गर्ने विषयमा छलफल गरेका छन् । शुक्रबार बसेको गठबन्धन दलका नेताहरूले २०७९ सालभित्र तीन तहका निर्वाचन एकै पटक गर्ने विषयमा छलफल गरेका हुन् ।
स्राेतका अनुसार निर्वाचन खर्च, नेपालको भूगोललगायतका विषयलाई ध्यानमा राखेर एकैपटक निर्वाचन सम्पन्न गर्ने विषयमा छलफल भएको बताइएको छ ।
संवैधानिक व्यवस्था अनुसारनै निर्वाचन सम्पन्न गर्न गठबन्धन आवद्ध दलहरू प्रतिबद्ध रहेको माओवादी केन्द्रले पार्टीकाे धारणा सार्वजनिक गरिसकेकाे छ ।
तीन पटकमा सम्पन्न भएका स्थानीय तहका निर्वाचन, संविधान र कानुन अनुसार तीनको समयावधि, एकैपटक निर्वाचन गर्दा बाझिने सक्ने कानुनी ब्यवस्था र त्यसको उपाय, संघ तथा प्रदेशको निर्वाचन आदिबारे गठबन्धनको तर्फबाट कानुनविदसँग परामर्श गर्ने निर्णय बैठकले गरेको जनाइएकाे छ ।
संविधान र ऐनमा स्थानीय निर्वाचनबारे फरक–फरक व्यवस्था भएकाले त्यसकाे व्यवस्थापनका लागि के गर्न सकिन्छ भन्ने विषयमा कानुविदहरूसँग परामर्श गरी छिट्टै निर्णयमा पुग्ने बैठकमा सहमति भएकाे बताइएकाे छ ।