अनेकतामा एकताको विशिष्ट उदाहरणः मिथिलाको मध्यमा परिक्रमा

काठमाडौँ - मिथिलाको महाकुम्भ मानिएको १५ दिवसीय मध्यमा परिक्रमा आजदेखि सुरु भएको छ। 

धनुषाको मिथिला बिहारी नगरपालिकाको कचुरीबाट मिथिला बिहारीको डोला परिक्रमा ९यात्रा० का लागि प्रस्थान गरेपछि १५ दिने परिक्रमा विधिवत रुपमा सुरु भएको हो। मिथिला बिहारीको डोला अग्निकुण्डमा दिउँसो विश्राम गरेर किशोरीजीको डोलासहित जनकपुरको हनुमाननगर पुग्नेछ। हनुमाननगरमा रात्रि विश्रामपछि मिथिला बिहारी र किशोरीजीको डोला शुक्रबार भारतको कल्याणेश्वरको लागि प्रस्थान गर्नेछ। 

अनेकतामा एकताको विशिष्ट उदाहरण रहेको मिथिला परिक्रमा फागुन प्रतिपदामा सुरु भई पूर्णिमाका दिन सम्पन्न हुन्छ।  मिथिला महात्म्यका अनुसार मिथिलापुरीको यात्राफल राम्रो मानिन्छ । मिथिला क्षेत्रमा भाग्यले जन्म हुन्छ,  यात्रा गर्नाले अनन्त फल प्राप्त हुनुका साथै मुण्डन, एकाध साँझ उपवास र बास बसेमा लाभ हुने विश्वास पनि महात्म्यमा उल्लेख छ।

नेपालका कुनाकाप्चा तथा भारतलगायत अन्य राष्ट्रका श्रद्धालुसमेत मिथिला क्षेत्रको यात्रामा सहभागी हुने गर्दछन्। ‘जय सिया राम, जय सीताराम’ को ध्वनि घन्काउँदै झ्याली, ढोलक, डमरू, करतल ध्वनिसँगै श्रद्धालुहरू श्री मिथिलाबिहारीका डोलाका पछिपछि श्रद्धाभक्तिका साथ परिक्रमा गरिहेको दृश्यले जोकोहीलाई मोहित पार्छ। सामान्य अर्थमा परिक्रमा भन्नाले कुनै व्यक्ति, देवमूर्ति र पवित्रस्थललाई केन्द्र मानी श्रद्धापूर्वक चारै दिशामा सुनिश्चित भूभागमा घुम्ने धार्मिक क्रियाकलाप हो।

हिन्दू धर्म, संस्कृति र परम्परामा यसको ठूलो महत्व रहेको छ। परिक्रमालाई प्रदक्षिणा पनि भनिन्छ। प्रदक्षिणाको परम्परा अति प्राचीन मानिन्छ। यसलाई षोडशोपचार पूजाको अङ्ग मानिएको छ। वैदिककालदेखि नै परिक्रमाद्वारा श्रद्धालुले देवमूर्ति र पवित्रस्थललाई प्रभावित गर्न वा सम्मानका लागि यो कार्य गर्ने गरेको पाइएको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×