काठमाडौँ - अखिल नेपाल फुटबल सङ्घ एन्फाका महासचिव किरण राई नेतृत्वमा बङ्लादेशको ढाका पुगेको टोलीले साफका महासचिवसँग भेट गरेको छ। टोलीले ढाकामा रहेको साउथ एसियन फुटबल फेडेरेसन (साफ) मुख्यालयमा साफ महासचिव अनवरुल हक्व हेललसँग भेट गरेको हो।
भेटमा एन्फा महासचिव राईले आउँदो अगस्ट २९ देखि सेप्टेम्बर १० तारिख अर्थात भदौ १३ गतेदेखि २५ गतेसम्म महिला साफ च्याम्पियनसिप नेपालमा गर्न प्रस्ताव गरेका छन्। नेपालको प्रस्तावमा साफ महासचिव सकारात्मक रहेको र साफ कङ्ग्रेसमा थप छलफल हुने एन्फाले जनाएको छ।
राईको नेतृत्वमा बिहीवार ढाका गएको टोलीमा एन्फाका कार्यकारी समितिका सदस्य विकासनारायण श्रेष्ठ र न्युरोड टिम (एनआरटी) का अध्यक्ष सुन्दर नरसिंह जोशी रहेका छन्।