काठमाडौँ- अर्थमन्त्री वर्षमान पुनले विश्व बैंकका उपाध्यक्ष आकिहिको निसिओ र ग्वाङ्झे चेनसँग भेटवार्ता गरेका छन्।
निसिओ विश्व बैंकका विकास वित्त (डिएफआई) परिचालन र ग्वाङ्झे चेन पूर्वाधार क्षेत्र हेर्ने उपाध्यक्ष हुन्। दुवै उपाध्यक्षसँग मन्त्री पुनले वासिङ्टन डिसीस्थित विश्व बैंक मुख्यालयमा मंगलबार राति भेटेका हुन्।
यस्तै अर्थमन्त्री पुनले अमेरिकी अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी) का उपाध्यक्ष रिकार्डो पुलिटीसँग पनि भेटेका छन्।
आगामी जुनमा काठमाडौँमा विश्व बैंक समूहअन्तर्गतको अन्तर्राष्ट्रिय विकास संघ (आइडिए) को २१ औँ बैठक गर्ने नेपालको प्रस्ताव स्वीकार गरेकामा अर्थमन्त्री पुनले विश्व बैंक उपाध्यक्ष निसिओलाई धन्यवाद दिए।
आइडिए बैठकको राम्रो तयारी भइरहेको भन्दै त्यसका लागि काठमाडौँस्थित विश्व बैंकको देशीय कार्यालयसँग समन्वय गरिरहेको समेत उनले बताए।