काठमाडौँ - गण्डकी प्रदेशका सांसद राजीव गुरुङ उर्फ दीपक मनाङेले एकीकृत समाजवादी त्यागेका छन् ।
उनी स्वतन्त्र रूपमा निर्वाचित भएर समाजवादी प्रवेश गरेका थिए । तर, केन्द्रमा भएको राजनीतिक समीकरणको फेरबदलपछि पार्टी छोडेका हुन् । उनले प्रदेशसभा सचिव हरिराज पोखरेललाई दल त्याग गरेको जानकारी गराएका छन् ।
‘स्वतन्त्र रूपमा म जनताको मन जितेर निर्वाचित भएको हुँ र आजको मितिदेखि नेकपा एकीकृत समाजवादी दलको सांसदको मान्यता र संसदीय अभिलेख सच्चाई स्वतन्त्र सांसदको अभिलेख कायम गरिदिन माग गर्दछु,’ उनले भनेका छन् ।
विना कारण केन्द्रमा गठबन्धन फेरिँदा देशमा अस्थिरता मौलाएको उनको टिप्पणी छ । ‘बिना कारण र अनायासै केन्द्रमा फेरिइरहने गठबन्धनका कारण देशमा अस्थिरता मौलाउँछ,’ उनले भने, ‘गण्डकीमा त्यस किसिमको परिस्थिति सृजना हुन नदिन सधैँ प्रतिबद्ध छु ।’
उनले केन्द्रको गठबन्धनले पनि एमाले र माओवादीलाई गण्डकीमा बहुमत पुर्याउन सहज नहुने बताएका छन् । नयाँ गठबन्धनले पनि बहुमत नपुर्याउँदा प्रदेश मध्यावधिमा जान सक्ने भएकोले मध्यावधि रोक्न आफूले पहल गर्ने बताए ।
नयाँ गठबन्धनले सरकार गठनको तयारी गरिरहँदा उनको दल त्यागपछि गण्डकीको राजनीतिमा नयाँ ट्वीस्ट आएको छ ।