आठौं तनहुँ महोत्सवका लागि दमौली बजारको साजसज्जा

काठमाडौँ - तनहुँको सदरमुकाम दमौली नयाँ दुलेही झैँ सिङ्गारपटार गरिएको छ।

यही चैत १० देखि २० गतेसम्म हुन गइरहेको आठौँ तनहुँ महोत्सव दमौलीमा हुन लागेकाले बजार क्षेत्रलाई सिङ्गारिएको हो। दमौलीको ट्राफिक चोकमा मुख्य स्वागत गेट निर्माण गर्नुकासाथै सडकका दायाँबायाँ किनारमा रङ्गरोगन गरी चिटिक्क बनाइएको छ। बजार क्षेत्रदेखि महोत्सवस्थलसम्म ध्वजापताका टाँगेर झिलिमिली र आकर्षक बनाइएको छ। ‘महोत्सव हाम्रो आधार, आर्थिक सामाजिक विकासको पूर्वाधार’ भन्ने मूल नाराका साथ तनहुँ उद्योग वाणिज्य सङ्घको आयोजना तथा दमौली बजार इकाइ समितिको सहआयोजनामा उक्त महोत्सवको आयोजना गरिएको हो। 

प्रधानमन्त्री शेरबहादुर देउवाले महोत्सवको उद्घाटन गर्ने कार्यक्रम रहेको छ। व्यासनगरपालिका–३ विपी वनवाटिकामा आयोजित महोत्सवस्थलमा प्रदर्शनी कक्ष निर्माण र बुकिङ कार्य अन्तिम चरणमा पुगेको छ। व्यासनगरपालिका–३ विपी वनवाटिकामा आयोजना हुने महोत्सवस्थलमा स्टल, स्टेज निर्माण, बुकिङ कार्य र महोत्सवको तयारी अन्तिम चरणमा पुगेको सङ्घका प्रथम उपाध्यक्ष एवं प्रवक्ता इमकुमार मल्लले जानकारी दिए। जिल्लाको प्रवेश नाका पूर्वतर्फको आँबुखैरेनी र पश्चिमतर्फको कोत्रे क्षेत्रमा स्वागत गेट निर्माण गरिएको छ। व्यापारिक प्रयोजन र कृषि, हस्ताकला लगायतका गरी दुई सय दश स्टल निर्माण गरिएको छ। 

ऐतिहासिक, धार्मिक र सांस्कृतिक पर्यटकीयस्थलहरुको पहिचान गरी प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सवको आयोजना गरिएको तनहुँ उद्योग वाणिज्य सङ्घका अध्यक्ष एवं महोत्सव मूल समारोह समितिका संयोजक श्रेष्ठले बताए। महोत्सव अवधिभर करिब तीन लाख दर्शकले महोत्सव अवलोकन गर्नाका साथै करिब रु. ६ करोड बराबरको आर्थिक कारोबार भई रु. १५ देखि २० लाखसम्म बचत गर्ने लक्ष्य राखिएको छ। महोत्सवस्थलमा एकजना डा सहितको प्राथमिक उपचार स्टल एम्बुलेन्स तयारी अवस्थामा राखिनेछ भने एउटा एम्बुलेन्स स्ट्यान्डबाई राखिनेछ। स्थानीय स्तरमा उत्पादित कृषि, घरेलु, हस्तकला उत्पादनलाई बढ्वा दिँदै लोपोन्मुख भाषाभाषी, कलासंस्कृतिको संरक्षणमा महोत्सवले थप टेवा पुग्ने विश्वास लिइएको छ।

त्यसैगरी, लोपोन्मुख बन्दै गएका कौडा, बालन नाच, पाउदुरे, टाकटुके, लाखे नाचलाई प्राथमिकतामा राखिएको उनले बताए। महोत्सवमा स्थानीय कलाकारदेखि राष्ट्रियस्तरका ख्यातिप्राप्त कलाकारहरूको सहभागिता रहनेछ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×