काठमाडौँ - नेपाली पब्जी टिम डीआरएस गेमिङ पब्जी विश्वकप अर्थात् पब्जी मोबाइल ग्लोबल च्याम्पियनसिप (पीएमजीसी) २०२२ को फाइनलमा प्रवेश गरेको छ। डीआरएसले ‘लास्ट चान्स’ को अंक तालिकामा शीर्ष ५ भित्र पर्दै अन्तिम चरणमा स्थान बनाएको हो। लास्ट चान्सका १२ खेलबाट ३८ एलिमिनेसन पोइन्ट र एक चिकेन डिनरसहित कुल १११ पोइन्ट ल्याएर यो टिम अंक तालिकाको चौंथो स्थानमा रहेको छ।
त्यस्तै ‘लास्ट चान्स’को पहिलो स्थानमा ‘अल्फा सेभेन ई-स्पोर्ट्स’ र दोस्रो स्थानमा ‘भ्याम्पायर ई-स्पोर्ट्स’ रहन सफल भएका छन्। पहिलो स्थानमा रहेको ‘अल्फा सेभेन ई-स्पोर्ट्स’ ले ८० एलिमिनेसन पोइन्ट र ३ चिकेन डिनरसहित कूल १६३ पोइन्ट रहेको छ। दोस्रो र तेस्रो स्थानमा रहेको भ्याम्पायर ई-स्पोर्ट्स र ‘आईएचसी ई-स्पोर्ट्स’को समान ११९ पोइन्ट रहेको छ।
‘लास्ट चान्स’को खेल सकिएसँगै अन्तिम चरणका टिमको पनि टुंगो लागेको छ। अन्तिम चरणका लागि ‘डीआरएस गेमिङ’ सँगै ‘अल्फा सेभेन ईस्पोर्ट्स’, ‘भ्याम्पायर ई-स्पोर्ट्स’, ‘आईएचसी ई-स्पोर्ट्स’ र ‘इन्को गेमिङ’ छनोट भएका छन्।
फाइनल प्रवेशसँगै डीआरएसले १ करोड रूपैयाँभन्दा बढी रकम प्राप्त गर्ने भएको छ। अन्तिम चरण अर्थात् फाइनलका खेल जनवरी ६ देखि ८ सम्म इन्डोनेसियाको जकार्तामा हुनेछ, जसमा अर्को नेपाली टिम ‘ट्रेन टु किल’ पनि छनोट भइसकेको छ।