काठमाडौँ । स्याङ्जाको वालिङ नगरपालिकाले सञ्चालनमा ल्याएको सरसफाइ केन्द्र अहिले सिकाइ केन्द्रका रूपमा स्थापित हुँदै गएको छ।
स्मार्ट सिटीको अवधारणानुरूप अगाडि बढ्दै गरेको वालिङ नगरपालिकाले फोहोरमैलाको उचित व्यवस्थापन गरेर आम्दानीको स्रोतमा रुपान्तरण गरेसँगै देशका विभिन्न पालिका तथा फोहोर मैलाका क्षेत्रमा कार्य गर्ने विभिन्न सङ्घसंस्था अध्ययनका लागि आउने गरेका छन्। आर्थिक वर्ष २०७१/०७२ देखि फोहोरमैला सङ्कलन थालेको नगरपालिकामा हालसम्म नगरपालिका/गाउँपालिका तथा फोहोरमैला व्यवस्थापनका क्षेत्रमा काम गर्ने पाँच सयभन्दा बढी विभिन्न सङ्घसंस्थाले अध्ययन-अवलोकन गरिसकेका छन्।
कतिपय ठाउँमा फोहोरमैला व्यवस्थित तरिकाले नछुट्टयाइने र जम्मा गर्ने मात्रै गर्दा डम्पिङ साइटका रूपमा रहने गरेकाले नजिकैको स्थानीय समुदाय विरोधमा उत्रिएर फोहोर फाल्न नदिने गरेको उदाहरण प्रशस्तै छन्। फोहोर नदी, खोला किनारमा थुपार्ने कार्यले वातावरण प्रदूषित भएको भनी विरोध भइरहँदा नगरपालिकाले फोहोरलाई आर्थिक स्रोतका रूपमा विकास गरेपछि यसबारे बुझ्न आउनेहरू बढ्दै गएका छन्। फोहोर मैला व्यवस्थापन चुनौतीका रूपमा देखिरहेका बेला त्यसको व्यवस्थापनबारे यहाँ आएर अध्ययन अवलोकनपछि आआफ्ना ठाउँमा कार्यान्वयन गर्ने सङ्घसंस्था धेरै छन्।
गाउँपालिकाको जनप्रतिनिधिमा निर्वाचित भइसकेपछि वालिङले फोहोरमैलाका क्षेत्रका गरेको नमुना कार्यको अध्ययन अवलोकन गरिएको तनहुँको आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष गिरबहादुर थापाले बताए। “फोहोरमैलाको व्यवस्थापनमा पुरस्कृत भइसकेको वालिङ नगरपालिकाको मोडेलका बारेमा हामीले त्यहीँ पुगेर हेर्यौँ”, अध्यक्ष थापाले भने, “अध्ययन अवलोकनपछि त्यही मोडेल अपनाई हामीले पनि २०७४ भदौदेखि फोहोर सङ्कलन थाल्यौंँ।”
एक दिन कुहिने, एक दिन नकुहिने र महिनामा एक दिन सिसाजन्य फोहोर सङ्कलन गर्ने गरिएको छ। वडा नं ३ कुडुलेमा फोहोरमैला व्यवस्थापन गर्दै आएको गाउँपालिकाको निगरानीमा एक कम्पनीमार्फत फोहोर सङ्कलनका लागि सम्झौता भएको छ।