पहिलोपटक ब्रह्माण्डको रङ्गिन तस्बिर सार्वजनिक

काठमाडौँ - जेम्स वेब स्पेस टेलिस्कोपबाट खिचिएको पहिलोपटक ब्रह्माण्डको रङ्गिन तस्बिर सार्वजनिक भएकाे छ।  यो तस्बिर ब्रह्माण्डको हालसम्मकै धेरै गहिरो र विस्तृत इन्फ्रारेड दृश्य भएको भएको बताइएको छ। यसमा देखिएका प्रकाश विभिन्न आकाशगंगाहरूबाट अरबौं वर्ष लगाएर आएका छन्।

अमेरिकी राष्ट्रपति जो बाइडेनलाई ह्वाइट हाउसमा ब्रिफिङ्गका क्रममा तस्बिर देखाइएको थियो। तस्बिर हेरेपछि बाइडेनले आफूहरु पहिले कसैले नदेखेका सम्भावना देख्न सक्षम रहेको प्रतिक्रिया दिएका छन्।बाइडेनले तस्बिर हेरेपछि भने, 'यी तस्बिरले संसारलाई याद दिलाउने छ कि अमेरिका ठूला ठूला काम गर्न सक्छ र अमेरिकी जनता र विशेषतः हाम्रा बालबालिकाहरूलाई याद दिलाउने छ कि कुनै पनि कुरा हाम्रो क्षमताभन्दा पर छैन।'

जेम्स वेबका थप तस्बिरहरू नासाले आज सार्वजनिक गर्ने बीबीसीले जनाएको छ।

वेब परियोजनाका कार्यक्रम वैज्ञानिक डा. एरिक स्मिथले यो मिशनबाट विश्वजगत् साँच्चिकै मोहित भएको बताएका छन्। जेम्स वेब स्पेस टेलिस्कोप एक अन्तरिक्ष टेलिस्कोप हो जुन मुख्य रूपमा इन्फ्रारेड खगोल विज्ञान सञ्चालन गर्न डिजाइन गरिएको हो। यसलाई अन्तरिक्षमा प्रक्षेपण गरिएको सबैभन्दा शक्तिशाली टेलिस्कोपको रूपमा हेरिएको छ। यसको धेरै सुधारिएको इन्फ्रारेड रिजोल्युसन र संवेदनशीलताको कारण यसले हबल स्पेसको लागि धेरै पुरानो, टाढा वा धमिलो वस्तुहरू हेर्न मद्दत गर्छ।

१० बिलियन डलरको जेम्स वेब स्पेस टेलिस्कोप गत वर्ष २५ डिसेम्बरमा प्रक्षेपण गरिएको थियो। यसले आकाशको सबै प्रकारको अवलोकन गर्नेछ भने दुई वटा खास लक्ष्य रहेका छन्।

पहिलो- १३.५ अर्ब वर्षअघि ब्रहमाण्डमा चम्किएको पहिलो ताराहरूको तस्बिर लिनु। दोस्रो- बस्न मिल्छ कि मिल्दैन भनेर पर-परका ग्रहहरूको जाँच गर्नु।

हालसम्मको अध्ययनले ब्रहमाण्ड १३.८ अर्ब वर्ष पुरानो रहेको बताइन्छ। यसको अर्थ यो टेलिस्कोपले सृष्टिको सुरुआतमा लैजानेछ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×