विश्वकप: इङ्ग्ल्याण्ड र पाकिस्तान संयुक्त विजेता हुनसक्ने

काठमाडौँ - अष्ट्रेलियामा जारी टी-ट्वेन्टी विश्वकपको विजेता टुङ्गो लाग्न अब एक खेल बाँकी छ। विश्वकपको फाइनलको लागि पाकिस्तान र इङ्ग्ल्याण्ड भिड्दैछन्।

पछिल्लो समय युवा टोलीलाई विश्वास गरेर अघि बढेको पाकिस्तान 'भाग्य'ले सेमिफाइनलमा पुगेको थियो। तर न्युजिल्याण्डलाई ७ विकेटले पराजित गर्दै उसले आफ्नो शक्ति प्रदर्शन गर्‍यो।

यता इङ्ग्ल्याण्ड सुपर १२ को खेलमा कमजोर मानिएको टोली आयरल्याण्डसँग पराजित भएको थियो। तर बाँकी खेलमा राम्रो प्रदर्शन गर्दै उसले सेमिफाइनलमा आफ्नो स्थान पक्का गर्‍यो। फाइनल प्रवेशका लागि भारतविरुद्ध खेल थियो। त्यसमा भारतलाई नराम्रो गरी हराएर इङ्ग्ल्याण्डले पाकिस्तानविरुद्ध उपाधि भिडन्त तय गर्‍यो।

फाइनल खेल आइतबार हुँदैछ। तर आइतबार मेलवर्न शहरमा पानी पर्ने सम्भावना अत्यधिक रहेको छ। विश्वकप त्यसमा पनि फाइनल खेल। पानीले खेलप्रेमीलाई निराश बनाउने भएपछि हाल आयोजक आईसीसीले नियममा केही परिवर्तन गरेको छ।

यदि आइतबार वर्षाले खेल अवरुद्ध भएमा सोमबार फाइनल खेल हुनेछ। तर सोमबार झन् बढी वर्षाको सम्भावना रहेको छ। त्यसैले सोमबार खेल हुने अवस्था भएमा २ घण्टाको समयावधि थप गरिएको छ। र समय थप गर्दा पनि दुवै टोलीले कम्तीमा १०-१० ओभर खेल्न पाएनन् भने इङ्ग्ल्याण्ड र पाकिस्तान दुवै संयुक्त विजेता घोषणा गरिनेछ।

आयोजकले भने 'जे जस्तो परे पनि' आइतबारै फाइनल खेलाउन चाहेका छन्। र सम्भव नभए आइतबारै खेल सुरु गराएर (१० ओभर प्रतिइनिङ) सोमबार निरन्तरता दिने आयोजकको तयारी छ। आइतबार खेल जहाँ रोकिएको थियो सोमबार त्यहीँबाट सुरु गर्ने उनीहरूको योजना रहेको छ।

यसपटक विश्वकपमा इङ्गल्याण्ड-अष्ट्रेलिया जस्तो बहुप्रतीक्षित खेल वर्षाका कारण अवरुद्ध भएको थियो।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×