सुर्खेत। नेपाली कांग्रेस संसदीय दल कर्णाली प्रदेशका नेता जीवनबहादुर शाही कात्तिक १६ गते मुख्यमन्त्री नियुक्त हुनुभयाे । मुख्यमन्त्रीमा नियुक्त हुनु भएको करिव दुई महिना पुगिसक्दा पनि मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन ।
गत मंसिर १५ गते बिश्वासको मत लिएलगत्तै मन्त्रिपरिषद विस्तार गर्ने भनिए पनि पाँच मन्त्रालयले मन्त्री पाउन सकेका छैनन् । यसअघि मुख्यमन्त्री शाहीले किस्ता किस्तामा मन्त्रिपरिषद् विस्तार गरेका थिए ।
दुईपटक मन्त्रिपरिषद् विस्तार गर्दै उहाँले भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रीमा एकीकृत समाजवादीका चन्द्रबहादुर शाहीलाई नियुक्त गरेका छन् । माओवादी केन्द्रका बिन्दमान विष्टलाई आर्थिक मामिला तथा योजना मन्त्रीमा नियुक्त गरेका छन् ।
सत्ता गठबन्धनका तिन दलमध्ये कांग्रेस र माओवादी केन्द्रको महाधिवेशन तथा अधिवेशन चलिरहेकाले मुख्यमन्त्री र पूर्व मुख्यमन्त्री महेन्द्रबहादुर शाही त्यसैमा व्यस्त रहेका छन् । मुख्यमन्त्री शाहीले महाधिवेशनको चटारोका कारण मन्त्रिपरिषद विस्तारमा ढिलाइ भएको बताए।
‘म बुधबार काठमाडौंबाट सुर्खेत फर्कन्छु,’ उनले भने, ‘आफूले नजिते पनि आफ्ना साथीहरूलाई साथ र सहयोग त गर्नुपर्यो नि भनेर म काठमाडौं बसेको हुँ ।’
अहिले माओवादी केन्द्रको पनि प्रदेश अधिवेशन चलिरहेको छ । पूर्व मुख्यमन्त्री शाही पनि पार्टीकै चुनावमा व्यस्त छन् । सरकार विस्तारबारे आफूहरूबीच छलफल भइरहेको भन्दै उहाँले चाँडै नै मन्त्रालयले मन्त्री पाउने बताए ।
‘मन्त्रालयमा मन्त्री नभए पनि काम भइरहेकै छ नि,’ उनले भने, ‘अहिले आत्तिनु पर्दैन, हामी बीच भागबण्डाको कुरा नमिलेको भन्ने पनि होइन, चाँडै नै छलफलबाट सबै टुंगो लाग्छ ।’ मुख्यमन्त्री शाहीले पनि आफूहरूबीच भागबण्डा बाँडफाँटबारे ३ दलबीच छलफल भइरहेको बताए ।
‘पहिला भएको लिखित सहमतिअनुसार नै भाडबण्डा मिल्छ,’ उनले भने, ‘अन्य दलबाट नामको सिफारिस आएमा चाँडै नै मन्त्रिपरिषद् विस्तार हुन्छ ।’ नेकपा एकीकृत समाजवादीका केन्द्रीय उपमहासचिव तथा कर्णाली प्रदेश इन्चार्ज प्रकाश ज्वालाले मन्त्रिपरिषद् विस्तारबारे अहिले कुनै छलफल नभएको बताए । ‘अहिले मुख्यमन्त्री र पूर्व मुख्यमन्त्री चुनावमै व्यस्त छन्,’ उनले भने, ‘मन्त्रिपरिषद् विस्तार यति दिनभित्र हुन्छ भन्ने कुनै टुंगो छैन, मुख्यमन्त्री काठमाडौंबाट फर्किएपछि यसबारेमा छलफल हुन्छ, भागवण्डामा कुनै समस्या छैन ।’
मन्त्रालयमा मन्त्री नहुँदा काममा असहजता भइरहेको कर्मचारीहरूले बताएका छन् ।