काठमाडौँ। दक्षिण भारतीय कलाकार प्रभासको आउँदो चलचित्र ‘राधे श्याम’ नेपालमा पनि प्रदर्शन हुनेछ। चलचित्र शुक्रबारबाट नेपालसँगै विश्वभर प्रदर्शनमा आउन लागेको छ। चलचित्रलाई ‘अ ऐट फिल्म्स’ प्रालीले नेपाल ल्याएको हो। गोपिकृष्ण मुभिजअन्तर्गतको अ ऐट फिल्म्सले यसअघि पनि हिन्दी चलचित्रहरू नेपाल ल्याउने गरेको थियो।
यसैबिच प्रभासले आफ्नो चलचित्र नेपालमा पनि प्रदर्शन हुने भएकाले नेपाली दर्शकका लागि सन्देश दिएका छन्। एक भिडियोमा उनले नेपाली दर्शकलाई सम्बोधन गर्दै चलचित्रलाई माया गरिदिन आग्रह गरेका छन्। उनले भनेका छन् ‘नमस्ते नेपाल, मेरो फिल्म राधे श्याम मार्च ११ बाट प्रदर्शनमा आउँदै छ,’ उनले भनेका छन्, ‘फिल्मलाई सिनेमा घरमा हेर्नुहोला। आशा छ, तपाईंहरुलाई मन पर्नेछ। तपाईंहरुलाई मेरो धेरै धेरै प्रेम।’
चलचित्रमा प्रभाससँगै पूजा हेग्डे पनि मुख्य अभिनयमा रहेकी छिन्। युभि क्रिएसन र टि सिरिजले संयुक्त रुपमा निर्माण गरेको चलचित्रमा राधाकृष्ण कुमारको निर्देशन तथा लेखन रहेको छ। चलचित्र शुक्रबारबाट तेलगु र हिन्दी भाषामा प्रदर्शन हुनेछ।