मुग्लिन। चितवनको इच्छाकामना गाउँपालिकाले पर्यटन प्रवद्र्धनका लागि म्युजिक भिडियो निर्माण गरेको छ। गाउँपालिका अध्यक्ष गीताकुमारी गुरुङ स्वयंले रचना गर्नुभएको गीत ‘इच्छाकामना’ लाई म्युजिक भिडियो बनाइएको हो। गाउँपालिकाले विशेष गरी पर्यटकीय क्षेत्रको प्रवद्र्धन गर्ने उद्देश्यले म्युजिक भिडियो निर्माण गरेको उनले बताए।
भिडियोमा गाउँपालिकाको कृषि, पर्यटन, भौगोलिक बनावटबारे उल्लेख गरिएको छ । गीतले इच्छाकामना घुम्न आउन सबैलाई आग्रह गरिएको छ। गीतको भिडियोले पनि गाउँपालिकाको सिराइचुली, चितवनको पुरानो सदरमुकाम एतिहासिक उपर्दाङगढी जलवीरे लामो झरना, इच्छाकामना मन्दिर, तामिन, दाहाखानी, काउले साठीमुरे, मुग्लिन बजार, कुरिनटार, मनकामना केबुलकार, त्रिशूली, फिस्लिङलगायतका विभिन्न पर्यटकीयस्थलको दृश्य देखाइएको छ।
उक्त भिडियोमा गायक तथा सङ्गीतकार चेतन सापकोटाको स्वर तथा सङ्गीत सुन्न सकिन्छ। उनले नै निर्देशन गरेको भिडियोको छायाङ्कन भने विनोद श्रेष्ठ, राज पोखरेल र अनिल कटुवालले गरेका हुन्। साथीभाइ फिल्म्स् प्रालिले निर्माण गरेको भिडियोको सम्पादन भने प्रतिक ढुङ्गेलले गरेका छन्।
भिडियोमा गायक तथा सङ्गीतकार सापकोटाले प्रमुख भूमिका निर्वाह गरेका छन् भने गाउँपालिका अध्यक्ष एवं गीतका सर्जक गुरुङसहित स्थानीय कलाकारलाई देख्न सकिन्छ। गीतको भिडिया र अडियो सोमबार गाउँसभाको अवसर पारेर ‘वी स्टार’ नेपाल नामक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो। चितवनको एक मात्र गाउँपालिका ईच्छाकामना पर्यटकीय सम्भावना बोकेको पालिका हो। प्रचारप्रसारको अभाव र भौगोलिक विकटताका कारण पर्यक भित्र्याउन नसकेको यस गाउँपालिकामा पछिल्लो केही वर्षयता पर्यटकीयस्थलमा सडक पुगेसगैँ पर्यटकको आवागमनमा केही वृद्धि हुदैँ आएका छन्।