काठमाडौँ - सत्तारुढ दल नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले देशमा सुशासन कायम हुन नसकेको बताएका छन्। बिहीबार ललितपुरमा आयोजित लाओस राईद्वारा लिखित पुस्तक राष्ट्रवाद की राष्ट्रप्रेम नामक पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले देशमा दण्डहीनताले सीमा नाघेको बताए।
नेता कोइरालाले राजनीतिक मुद्दा वा जुनसुकै मुद्दाहरूमा अदालतले निर्णय गरिसकेका मुद्दालाई राजनीतिक मुद्दा भनेर छुट दिने हो भने दण्डहीनताले सीमा नाघ्ने बताए। उनले देशमा अहिले राष्ट्रियताको आडमा लोकरिझाँई, लोकप्रियतावादीका रुपमा नेताहरुले आफूलाई स्थापित गरिरहेको बताए। उनले लोकरिझाईंको राजनीतिले देशलाई बिगारीसकेको बताए। उनले लोकरिझाँईको राजनीति भविष्यमा देशका लागि घातक हुने बताए।
नेता कोइरालाले नेपालमा २०६२/०६३ पछि नै दण्डहीनताका घटनाहरु बढ्दै गइरहेको उल्लेख गरे। नक्कली भुटानी शरणार्थी, ललिता, ओम्नी, वाइडबडी लगायतका अनियमितताका प्रकरणहरु निचोडमा नपुर्याएसम्म देशको स्थिति अफ्ठ्यारो रहने उनले बताए।