काठमाडौँ - आगामी संसदीय निर्वाचनका लागि प्रत्यक्षतर्फ मनोनयन दर्ता गराएका उमेदवारका लागि मनोनयन फिर्ता लिन आज दिउँसो १ बजेसम्मको समय दिएको छ। निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभा तथा प्रदेशसभाको प्रत्यक्षतर्फ उम्मेदवारी दिएका व्यक्तिले आज १० बजेदेखि दिउँसो १ बजेसम्म आफ्नो उम्मेदवारी फिर्ता लिन पाउनेछन्।
आयोगले आजै दिउँसो ३ बजेभित्र उम्मेदवारहरूको अन्तिम नामावली सार्वजनिक तयारी गरेको छ। अन्तिम नामावली प्रकाशन भएसँगै उम्मेदवारहरूले आजै आफ्नो चुनाव चिह्न पनि पाउनेछन्।
यता राजनीतिक दलहरु भने बागी उम्मेदवार व्यवस्थापनमा जुटेका छन्। सत्ता गठबन्धनका शीर्ष नेताहरुले विज्ञप्ति नै जारी गरेर बागी उम्मेदवारी फिर्ता नलिए पार्टीको साधारण सदस्यबाटै निष्कासन गर्ने चेतावनी नै दिएका छन्।