काठमाडौँ । जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा देखापरेका असर न्यूनीकरण गर्न हिमालको संरक्षण गर्नुपर्नेमा सांसदहरूले जोड दिएका छन् ।
राष्ट्रियसभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै सांसदहरूले जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न हिमालको संरक्षणमा सरकारले ध्यान दिनुपर्ने बताएका हुन् । उनीहरूले जलवायु परिवर्तनको असर हिमालमा देखापर्न थालेको र नजिकैको बस्तीको जनजीवन समेत प्रभावित हुन थालेको भन्दै यसप्रति समयमै सचेत हुन सरकारलाई ध्यानाकर्षण समेत गराएका छन् ।
बैठकमा बोल्दै राष्ट्रियसभा सदस्य कृष्णबहादुर रोकायले जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि हिमाललाई सफा राख्नु पर्नेमा जोड दिए । उनले हिमालको सरसफाइ चुनौतीपूर्ण रहेको भन्दै नियमित सरसफाइ गर्न स्थानीय सरकारलाई जिम्मेवारी दिनुपर्ने बता ए। उनले हिमालका भएका हिमतालहरू फुटेर जनजीवन जोखिममा पर्ने खतरा रहेको भन्दै अहिले नै त्यसप्रति सरकारले योजना बनाएर काम गर्नुपर्ने बताए ।
राष्ट्रियसभा सदस्य इन्दिरादेवी गौतमले विश्वका अन्य हिमाल भएका देशहरूले कसरी हिमालको संरक्षण र सरसफाइ गरिरहेका छन् भनेर सिक्न सकिने धारणा राखिन् । उनले हिमालमा रहेका बस्तीमा संकट ननिम्तियोस् भन्नका लागि वेलैमा सचेत हुनुपर्ने भन्दै ठोस योजना बनाई अहिलेदेखि नै लागू गर्नुपर्ने बताइन् ।