काठमाठौ- वसन्त काव्य उत्सव अन्तर्गत विराटनगरमा पनि एक विशेष काव्य गोष्ठीको आयोजना गरिएको छ। आइतबार अपराह्न विराटनगरमा आयोजित कार्यक्रममा साहित्यकार दधिराज सुवेदीले गोष्ठीका सहभागी कविहरूद्वारा वाचन गरिएका कविताको चर्चा गरेका हुन्। उनले कविहरूले वाचन गरेका कविताहरूमा शब्द सौन्दर्य, लय माधुर्य र भाव गाम्भीर्य तीनै गुण रहेको उल्लेख गरे।
कार्यक्रममा कवि विश्वविमोहन श्रेष्ठले वसन्त काव्य उत्सवबारे प्रकाश पार्दै विराटनगरका साहित्यकारहरूप्रति आभार व्यक्त गरेका हुन्।
इन्द्रमोहन स्मृति गुठीको आयोजना र पूर्वाञ्चल साहित्य प्रतिष्ठान तथा एपेक नेपालको संयोजनमा आयोजित कार्यक्रममा गुठीकी संरक्षक डा. विमला श्रेष्ठले गुठीका बारेमा जानकारी गराएकी थिइन्।
कार्यक्रममा सविता गौतम दाहाल, सीमा आभास, लक्ष्मी युग्मी, निर्मला कोइराला, मञ्जुश्री गिरी, शुभलक्ष्मी लम्साल, राधा भट्टराई, राधा सुवेदी, लक्ष्मी रायमाझी, मञ्जु श्रेष्ठ, कविता प्रधान, सरला दवाडी, सुमन पोखरेल, मधु पोखरेल, शारदा कार्की, बद्रिविशाल पोखरेल, मीनकुमार नवोदित, भूषण ढुंगेल, विनोद घिमिरे, पुष्पा सायरा, रामबाबु दाहाल, स्वयम्भूनाथ कार्की, किशोर निरौलालगायत काव्य उत्सव टोलीमा सहभागी कविहरूले पनि रचनावाचन गरेका थिए।
यो काव्य गोष्ठीसँगै वसन्त काव्य उत्सव सम्पन्न भएको छ। उत्सवका लागि तेह्रथुमको म्याङलुङ, धनकुटा र विराटनगर पुगेको टोली आइतबार नै काठमाडौं फर्किएको छ।