काठमाडौँ - स्वस्तिमा खड्का अभिनीत फिल्म ‘चिसो मान्छे’ को ट्रेलर सार्वजनिक भएको छ। आउँदो महिना असार ३ गतेबाट प्रदर्शनमा आउने फिल्मलाई दीपेन्द्र कुमार खनालले निर्देशन गरेका हुन्।
फिल्मको सार्वजनिक पोस्टर र टिजरमै स्वस्तिमामा देखिएको कर्णाली ‘लुक्स’ ले चर्चा पाएको थियो। कर्णालीको जीवन, त्यहाँको रहनसहन, श्रीमान् वैदेशिक रोजगारमा गएपछिको भोगाइ र स्वस्तिमाको संघीय राजधानी काठमाडौँसम्मको यात्रालाई समेटेर ट्रेलर तयार पारिएको छ। ट्रेलरमा अर्पण थापा र देशभक्त खनाल पनि अटाएका छन्। विदेशबाट आएको शवलाई गाउँ पुर्याउने यात्रा फिल्ममा देखाइने छ।
फिल्मलाई डीएस डिजिटल प्रालिको ब्यानरमा शर्मिला पाण्डेले निर्माण गरेकी हुन्। फिल्ममा निर्देशक खनालकै लेखन र छायांकन रहेको छ। दीर्घ खड्काले सम्पादन गरेको फिल्ममा आशान्त शर्मा, प्रभाकर न्यौपाने, रामबाबु रेग्मी, झकेन बीसी, सञ्जोग रसाइली लगायतका कलाकारको पनि अभिनय रहेको छ।