काठमाडौं । सरकारले १७ वर्षसम्मका बालबालिकालाई विद्यालयमै कोभिड–१९ विरुद्धको मोडर्ना खोप दिने भएको छ।
आगामी पुस ४ देखि १४ सम्म १२ देखि १७ वर्षसम्मका बालबालिकालाई विद्यालयमै मोडर्ना खोप दिने तयारी गरिएको स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाले जनाएको छ।
यसअघि बालबालिकालाई खोप नलगाएका ५७ जिल्लामा मोडर्ना खोप दिइनेछ । काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, काभ्रे, सिन्धुली, सुर्खेत र डडेल्धुरामा भने ४ पुसबाट फाइजर खोप दिइने महाशाखाले जनाएको छ।
यसअघि फाइजर खोप लगाइएका १९ जिल्ला बाहेकका सबै जिल्लामा मोडर्ना खोप अभियान सञ्चालन गरिने परिवार कल्याण महाशाखाका प्रमुख डा विवेकलाल कर्णले बताए । उनका अनुसार यो खोप ५७ वटा जिल्लाका विद्यालयमै दिइनेछ। यसका लागि स्थानीय तहले समन्वय गर्ने उहाँले बताउनुभयो । काठमाडौं, ललितपुर, भक्तपुर, मोरङ, सुनसरी, सप्तरी, पर्सा, झापा, धनुषा, चितवन, काभ्रे, कास्की, बाग्लुङ, रुपन्देही, दाङ, बाँके, सुर्खेत, कैलाली र डडेल्धुरामा भने यो खोप नलगाइने डा कर्णले जानकारी दिए।
मोडर्ना खोप सात महिनासम्म भण्डारण गर्नुपर्दा माइनस १५ देखि २५ डिग्री सेल्सियसमा राख्नुपर्छ। एक महिनासम्म भण्डारण गर्न भने सामान्य मानिने २ देखि ८ डिग्री सेल्सियस तापक्रममा राख्न सकिन्छ। त्यसैले यो खोप गाउँ गाउँका विद्यालयमा लगेर दिने योजना बनाइएको उहाँले बताए । फाइजरभन्दा यो खोप गाउँ–गाउँ लगेर वितरण गर्न प्राविधिक रूपमा सजिलो रहेको उनको भनाइ छ ।
आगामी आइतबारसम्म कोभ्याक्स सुविधा र सरकारी खरीद प्रक्रियाबाट गरी ३६ लाख डोज मोडर्ना खोप नेपाल आइपुग्दै छ। त्यसका आधारमा बालबालिकालाई खोप लगाइने उनकाे भनाइ छ।