काठमाडौँ - स्पेनिस ला लिगाको नयाँ सिजन शुक्रबार रातिबाट सुरु भएको छ। इल साडर मैदान शुक्रबार राति घरेलु टोली ओसासुना र सेभियाबीचको खेलसँगै ला लिगाको नयाँ सिजन सुरु भएको हो।
सेभियाले सिजनको सुरुआत हारबाट गरेको छ। शुक्रबार राति भएको खेलमा सेभिया ओसासुनासँग २-१ ले पराजित भएको हो। खेलमा ओसासुनाका लागि इजिक्वेल एभिला र एइमज ओरोजले गोल गरेका थिए। सेभियाका राफा मिरले गोल फर्काएका थिए।
नवौं मिनेटमा इजिक्वेल एभिलाले हेडिङमार्फत गोल गर्दै ओसासुनाले सुरूआती अग्रता दिलाए। तर, त्यसको २ मिनेटपछि नै सेभियाले खेललाई बराबरीमा ल्याएको थियो। पापु गोमेजको पासमा पासमा मिरले गोल गरेका थिए।
खेलको पहिलो हाफ १-१ गोलको बराबरीमै सकिएको थियो। ७४औं मिनेटमा ओसासुनाले खेलमा पुनः अग्रता लियो। गोमेजले ओसासुनाका खेलाडीलाई फाउल गरेपछि प्राप्त पेनाल्टीमा ओरोजले गोल गरेका थिए। खेलमा त्यसपछि गोल नहुँदा ओसासुना विजयी भएको थियो।
ला लिगा अन्तर्गत शनिबार ३ खेल हुने। जसमा सेल्टाभिगो र स्पानियोल, भालाडोलिड र भिल्लारियल तथा रायो भालेकानो र बार्सिलोना भिड्ने छन्।