काठमाडौँ - सरकारले छोटो दूरीको सार्वजनिक सवारीसाधनको भाडा वृद्धि गरेको छ। बागमती प्रदेश सरकारअन्तर्गत श्रम रोजगार तथा यातायात मन्त्रालयले प्रदेशभित्र चल्ने सवारीसाधनको भाडा वृद्धि गरेको हो।
नयाँ भाडादर अनुसार काठमाडौं उपत्यकामा बस चढ्ने बित्तिकै २० रुपैयाँ तिनुपर्ने यसअघिकाे प्रावधान यथावत राखिएको छ। उपत्यकामा सुरुको दर अर्थात् पाँच किलोमिटर सम्मको गाडी भाडा २० रुपैयाँ नै कायमै छ। १० किलोमिटरसम्मको भाडा भने २५ बाट २७ रुपैयाँ पुर्याइएको छ।
त्यस्तै १५ किलोमिटरसम्मको भाडा ३० बाट बढेर ३२ र २० किलोमिटरभन्दा माथिको भाडा ३३ बाट ३५ र २० किलोमिटरभन्दा माथिको भाडा ३८ बाट ४० रुपैयाँ पुगेको छ।
उपत्यका बाहिरका क्षेत्रमा भने यसअघिको भाडामा ८.३९ प्रतिशतले वृद्धि गरिएको छ। नयाँ दरअनुसार अब काठमाडौंबाट कुरीनटारसम्म पुग्न ३ सय ७ रुपैयाँ भाडा लाग्नेछ। यसअघि २ सय ८३ थियो। त्यस्तै काठमाडौंबाट गल्छी ४७ किलोमिटरका लागि यसअघि १ सय ३४ रहेकोमा अब १ सय ४५ पुगेको छ।
काठमाडौं जिरी ८२ किमीका लागि यसअघि २ सय ६४ रहेकोमा अब २ सय ८६ रुपैयाँ पुर्याइएको छ। त्यसैगरी काठमाडौं-नारायणगढ-हेटौडासम्मको २ सय २० किमीको यसअघि भाडादर ६ सय १३ रहेकोमा अब ६ सय ६४ कायम गरिएको छ। यो समाचार आजको राजधानीदैनिकमा प्रकाशित छ।