काठमाडाै - नातिनातिनाको मायाको व्याख्या गर्नुपर्दा ‘सावाँको भन्दा ब्याजको माया’ भन्ने वाक्यांश सबैभन्दा धेरै प्रयोग हुने गर्छ । अर्थात् हजुरबुवा–हजुरआमालाई आफ्नो छोराको भन्दा नाति नातिनाको बढी माया लाग्छ। सायद यही माया प्रस्फुटित भएर होला, एक दम्पत्तिले आफ्नै छोरा–बुहारीविरुद्ध मुद्दा हालेका छन् । त्यो पनि नाति नातिना नपाइदिएको भनेर।
६१ र ५७ वर्षीय सञ्जिव र साधना प्रसादले आफ्नो छोरालाई हुर्काउन, पाइलटको तालिम गराउन र भव्य विवाहका लागि आफ्नो बचत खर्च गरेको बताए।उनीहरुले एक वर्षभित्र नातिनातिना नजन्मिएमा करिब ६,५०,००० डलर (८ करोड रुपैयाँ बढी) क्षतिपूर्तिको माग गरिरहेका छन्।
यो असाध्यै अचम्मको मुद्दा ‘मानसिक उत्पीडन’ अन्तर्गत दायर गरिएको हो। प्रसाद दम्पत्तिका अनुसार उनले आफ्नो सबै बचत आफ्नो एक्लो छोरामाथि खर्च गरे। सन् २००६ मा पाइलट प्रशिक्षणका लागि ६५,००० को लागतमा अमेरिका पठाए।
उनी सन् २००७ मा भारत फर्किए। तर उनको जागिर गुम्यो। तसर्थ उनका आमा–बुवाले छोराको परिवारलाई दुई वर्षभन्दा बढी आर्थिक रुपमा सहयोग गर्नुपर्यो।
३५ वर्षका श्रेय सागरले अन्ततः पाइलटको जागिर पाए। उनका आमाबुवाले सन् २०१६ मा ३१ वर्षीया शुभाङ्गी सिन्हासँग विवाह गराइदिए। छोराको विवाह गर्दा आफूहरुले सेवानिवृत्तिमा नाति नातिना खेलाउन पाउने आशा गरेको बताए।
उनका आमाबुवाले छोराको विवाहमा पाँचतारे होटलमा रिसेप्सन पार्टीको खर्च, ८० हजार डलरको विलासी कार र विदेशमा हनिमुन मनाएको खर्च आफैंले व्यवहोरेको बताए।
‘मेरो छोराको ६ वर्ष अघि विवाह भएको हो तर अहिलेसम्म पनि बच्चा जन्माउने योजनामा छैन,’ प्रसादले भने, ‘हामीसँग कम्तीमा एउटा नाति वा नातिनी भएको भए आफ्नो दुःख भुलाउने एउटा बाटो त पाउने थियौँ।’
‘प्रत्येक हजुरबुवा–हजुरआमाको आफ्नो नाति नातिना हेर्ने तीब्र इच्छा हुन्छ। उनिहरू आफू हजुरबुवा–हजुरआमा बन्न निकै वर्षदेखि प्रतीक्षा गरिरहेका थिए।’
हरिद्वारमा दर्ता गरिएको दम्पत्तिको याचिकाको सुनुवाई अदालतमा १७ मे मा हुने अपेक्षा गरिएको छ।