काठमाडौँ - फिल्म ‘नाई नभन्नु ल ६’ को छायांकन सुरु भएको छ। आज बिहीबारबाट फिल्मको छायांकन सुरु भएको हो। काठमाडौं मलबाट फिल्मको छायांकन सुरु भएको छायांकार पुरुषोतम प्रधानले जानकारी दिएका छन्।
फिल्मका पहिलो दृश्य अनुभव रेग्मीको खिचिएको छ। छायांकन पहिले निर्माण युनिटले मैतीदेवी मन्दिरमा फिल्मको स्क्रिृत पूजा गरेको थियो। तिहार अगाडि ३ दिन छायांकन हुने फिल्मको बाँकी छायांकन तिहारपछि हुनेछ।
विकासराज आचार्यको निर्देशन रहने ‘नाई नभन्नु ल’ को यो छैठौं श्रृखंला हो। फिल्ममा अभिनेत्री आँचल शर्मा र आर्शिवाद क्षेत्रीको मुख्य भूमिका रहनेछ। अभिनेत्री सञ्चिता लुइँटेल र अभिनेता निखिल उप्रेतीका छोरा अर्थव उप्रेतीले यसै फिल्ममार्फत अभिनयमा डेब्यू गर्दैछन्।
बाल मनोविज्ञानको कथामा फिल्म बन्न लागेको हो। फिल्ममा पुरुषोत्तम प्रधानको छायांकन, वसन्त सापकोटाको संगीत रहेको छ। अगामी बैशाख १ गते फिल्म रिलिज गर्ने निर्माण युनिटको योजना छ।