काठमाडौँ - आईसीसी टी-२० विश्व कप क्रिकेटमा भारतले जिम्बावेलाई हराएकाे छ। आइतवार मेलबर्नमा भएकाे खेलमा भारतले जिम्बावेलाई ७१ रनले हराएको हो।
भारतले दिएकाे १ सय ८७ रनकाे लक्ष्य पछ्याएकाे जिम्बावेले १७ ओभर २ बलमा अलआउट हुँदै १ सय १५ रनमात्रै बनायाे। यसका लागि रायल बर्लले ३५ र सिकन्दर राजाले ३४ रन बनाएका थिए। बलिङतर्फ भारतका रविचन्द्रन अश्विनले ३ तथा माेहम्मद शामी र हार्दिक पान्डेयाले २/२ विकेट लिएका थिए।
यसअघि टस जितेर ब्याटिङ गरेकाे भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ८६ रन बनाएको थियो। उसका लागि सूर्यकुमार यादवले नटआउट ६१ र केएल राहुलले ५१ रन बनाएका थिए। बलिङतर्फ जिम्बावेका सेन विलियम्सले २ विकेट लिएका थिए।
याे जितसँगै भारत समूह '२' काे विजेता बनेकाे छ। अब भारतले सेमिफाइनलमा इङ्ग्ल्यान्डसँग खेल्नेछ। यही समूहबाट उपविजेता बनेकाे पाकिस्तानले न्युजिल्यान्डसँग सेमिफाइनल खेल्नेछ।