काठमाडौँ - चर्चित कमेडी शो ‘द कपिल शर्मा शो’ फेरि एकपटक दर्शकलाई मनोरञ्जन दिने तयारीमा छ। यसै साताबाट सुरु हुने शोमा केही पुराना अनुहारहरू फेरि देखिँदैछन्, भने केही नयाँ अनुहारले पनि दर्शक हँसाउनेछन्।
केही समययता शोका धेरै महत्त्वपूर्ण कलाकारले छाडेका छन्। हालै मात्र शो सुरु भएको जानकारी सार्वजनिक हुनेबित्तिकै कृष्णा अभिषेकले शो छोडेको खबरले सबैलाई चकित तुल्याएको थियो। यसैबीच, फेरि एक कलाकार यो शोबाट अलग हुने समाचार आएको छ। समाचारका अनुसार चर्चित कमेडियन भारती सिंह पनि कपिलको शोबाट अलग्गिन लागेकी हुन्।
शोमा भारतीलाई नदेख्दा फ्यानहरू निकै निराश हुनेछन्। तर, अहिले सबैको मनमा एउटै प्रश्न उठिरहेको छ। आखिर किन छोड्न लागिन् भारतीले शो?
भारतीले भने शोबाट टाढा हुनुको कारण आफूसँग पहिलेदेखि नै एउटा शो भएको बताएकी छिन्। उनले भनेकी छिन्, ‘‘सारे गमा पा’मा कमिटमेन्ट दिएकी थिएँ। तर सारे गमा शो र द कपिल शर्मा शोको टाइम मिलेन भने देख्न पनि सकिनेछ।’
शो हरेक शनिबार र आइतबार सोनी च्यानलबाट सेप्टेम्बर १० गतेदेखि प्रसारण हुनेछ। दर्शकले राति ९ः३० बजेदेखि आफ्नो टिभीमा कार्यक्रम हेर्न सक्नेछन्। यसपटक जहाँ कृष्णा अभिषेक शोको हिस्सा नहुने छन्, उता शोमा केही नयाँ अनुहार पनि देखिने भएका छन्। यसका अलावा सुमोना, किकु शारदा, चन्दन प्रभाकर लगायत नयाँ सिजनमा देखिनेछन्।