काठमाडौँ। दुई खेलको अन्तर्राष्ट्रिय फुटबल शृङ्खलाअन्तर्गत मङ्गलबार नेपाल र मोरिससबीच दोस्रो र अन्तिम खेल हुँदैछ। नेपालले दोस्रो खेल दशरथ रङ्गशालाको क्षमताको एक तिहाइ दर्शकको उपस्थितिमा खेल्नेछ।
फिफाले अन्तर्राष्ट्रिय मैत्री खेलका लागि तोकिएको क्यालेन्डरअनुरूप नेपाल र मोरिससबीच दुई खेलको शृङ्खला चालू छ। पहिलो खेल १–० ले जितेर यस शृङ्खलामा नेपाल अगाडी छ।
गत शनिबार अफ्रिकी राष्ट्र मोरिससलाई हराएर नेपालले सन्तोषजनक नतिजा निकालिसकेको छ। यद्यपि नेपालका प्रशिक्षक अब्दुल्ल अल्मुताइरी सो नतिजाले खुसी बनेनन्।
उनको भनाइअनुसार मोरिससविरुद्धको जित महत्वपूर्ण भए पनि सन्तुष्ट हुने खालको थिएन। हुन पनि पहिलो खेलमा नेपालको डिफेन्सबाट केही त्रुटि भएको थियो । यसैगरी गोल हुने खालका तीन, चार प्रहार पनि असफल भएका थिए।
यद्यपि नेपाली फुटबल टिमसमक्ष अब आफ्ना प्रशिक्षक अल्मुताइरीलाई सन्तुष्ट बनाउने अवसर तीन दिनपछि नै मिलेको छ। गोरखापत्र दैनिकमा खबर छ ।