पोखरा । बीवाईएससी मिनेसोटा अमेरिकालाई ३ - १ गोल अन्तरले हराउँदै विभागीय टीम नेपाल एपीएफ क्लब २० औं संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
पोखरा रंगशालाको फुटबल मैदानमा शनिबार भएको खेलमा खेलको ४७औं मिनेटमा मिगल पेलाफक्सले हेडरमार्फत गोल गर्दै बीवाईएससीलाई अग्रता दिलाएका थिए । खेलको ७०औं मिनेटमा एपीएफका आवाश लामिछानेले पेनाल्टीमा गोल गर्दै खेललाई १-१ गोलको बराबरीमा फर्काएका थिए । सब्सिच्युड खेलाडी रवी थिङले खेलका ८४औं मिनेटमा गोल गर्दै एपीएफलाई २-१ को अग्रता दिलाएका थिए । खेलको इन्जुरी समयमा रवीले व्यक्तिगत दोस्रो गोल गर्दै आफ्नो टीम एपीएफलाई ३-१ को फराकीलो अन्तरले जित दिलाउन महत्वपूर्ण भूमीका खेले । दुई गोलको योगदान दिएका रवी थीङ शनिबारको खेलमा म्यान अफ दि म्याच घोषीत भए ।
एपीएफ पहिलो खेलमा आयोजक सहारा क्लबलाई २-० गोलले हराएर क्वाटरफाइनलमा स्थान बनाएको थियो। सेमिफाइनलमा एपीएफको भेट संकटा र मछिन्द्र क्लबीचको विजेतासगँ हुनेछ।