काठमाडौँ - ‘आफ्नै नाम, आफ्नै सान, आफ्नै पहिचान, गाउँदेखि विश्वसम्म’ भन्ने नारासहित सन् २०१६ बाट सुरु भएको ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ को पाँचौ संस्करण अमेरिकाको डेनभर कोलोराडोमा आयोजना हुने भएको छ।
‘पाँचौँ एटिए एभरेष्ट ग्लोबल नेपाली फिल्म अवार्ड’ का अध्यक्ष नवराज श्रेष्ठले नेपाल-अमेरिका सम्बन्धको ७५ औँ वार्षिकोत्सवको उपलक्ष्यमा सन् २०२२ अक्टोबर १३, १४ र १५ तारिखमा अवार्ड आयोजना हुने जानकारी गराएका छन्।
अवार्ड कार्यक्रममा १३ र १४ तारिख नेपाली चलचित्रलाई विश्वसामु परिचित गराउने उद्देश्यले फिल्म फेस्टिभल हुने तथा १४ तारिखमा अमेरिकामा नेपाली चलचित्रको सम्भावनाको बारेमा अन्तरक्रिया कार्यक्रम र १५ तारिखका दिन अवार्ड वितरण कार्यक्रम हुने अध्यक्ष श्रेष्ठले बताएका छन्।
एटिए एभरेष्ट इन्स्योरेन्सको मुख्य प्रयोजन र सुनिल पाठक एजेण्ट अल स्टेट इन्स्योरेन्स कम्पनिको सह-प्रयोजनमा नेपाल फिल्म सोसाइटी, ग्लोबल नेपाली फिल्म अवार्ड, गोल्डेन स्टेट मुभी मेकर र ८८४८ मिडिया हाउस एल एल सीले संयुक्त रूपमा ‘पाँचौ ग्लोबल नेपाली फिल्म अवार्ड’ आयोजना गर्न लागेका हुन्।
अवार्डका अघिल्ला चार संस्करण कोलोराडो र सनफ्रान्सिस्कोमा भएका थिए। अवार्ड कार्यक्रममा नेपाली फिल्म र फिल्मकर्मीलाई सम्मानसहित अमेरिकामा रहेका नेपाली चलचित्रकर्मीलाई प्रोत्साहनसमेत गरिने नेपाल फिल्म सोसाइटीका अध्यक्ष कृष्ण मल्लले जानकारी गराएका छन्।
अवार्ड आयोजनाको उद्देश्य विदेशमा नेपाली फिल्मको प्रवर्द्धन गर्नु रहेको श्रेष्ठले बताएका छन्। ‘नेपाललाई फिल्म टुरिजमको हब बनाउन अवार्डले भूमिका खेल्नेछ’, उनले भने। अवार्ड कार्यक्रममा भुटानी चलचित्रहरूलाई समेत समावेश गराउने अर्का आयोजक ८८४८ मिडिया हाउस एलएलसीका अध्यक्ष तथा निर्देशक नारायण पुरीले बताएका छन्।
नेपालबाट गएका र अमेरिकामा बस्ने कलाकर्मीहरूको पुनर्मिलन गराउने र नेपाललाई विदेशीमाझ चलचित्र छायांकन गर्न सुन्दर ठाउँको रूपमा प्रचार गर्नु पनि अवार्डको उद्देश्य रहेको पुरीले जानकारी दिएका छन्।
अवार्ड र फिल्म फेस्टिवलका लागि छनौट समिति गठन भइसकेको र चाँडै नै अवार्डको सम्पूर्ण जानकारी प्रेस विज्ञप्तिमार्फत् ल्याउने तथा नेपालबाट अवार्ड कार्यक्रममा सहभागी हुने कलाकार तथा फिल्म फेस्टिभलमा समावेश हुने चलचित्रहरूको जानकारी केही दिनमा गराइनेछ।
यसअघि पत्रकार सम्मेलनमार्फत् अमेरिकाको टेक्सस राज्यको ड्यालस सहरमा अवार्ड आयोजना गरिने भनेकोमा विविध प्राविधिक कारणले गर्दा अवार्डको मिति र स्थान परिवर्तन भएको ग्लोबल नेपाली फिल्म अवार्डका प्रेस संयोजक सूर्य चन्दले बताएका छन्।