काठमाडौँ - अष्ट्रेलियाले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पूनरागमन सफलता हात पारेको छ। कतारमा बुधबार राति भएको खेलमा अष्ट्रेलियाले जोर्डनमाथि २–१ को पूनरागमन जित निकालेको हो। अष्ट्रेलियाको जितमा बेइली राइट र एवेर मविलले गोल गरेका थिए। जोर्डनका लागि मुसा अल तामारीले गरेको गोल सान्त्वना बन्यो।
खेलको १७औं मिनेटमा मुसा अल तामारीले गोल गर्दै जोर्डनलाई सुरुवाती अग्रता दिलाए। उनले अहमेद समिरको पासमा गोल गर्न सफल भएका थिए। तर, जोर्डनले त्यो अग्रतालाई जोगाउन सकेन।
४०औं मिनेटमा बेइली राइटले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याएका थिए। त्यसपछि ६८औं मिनेटमा एवेर मविलले गोल गर्दै अष्ट्रेलियालाई पूनरागमन जित दिलाएका हुन्।
अष्ट्रेलिया कतार विश्वकपको तयारीमा तथा जोर्डन एसियन कपको अन्तिम तयारीमा रहेको छ। अष्ट्रेलियाले एसियाको छनोटको प्ले अफको सेमिफाइनलमा युएईविरुद्ध खेल्दैछ। उक्त खेलमा सफलता हात पारे अष्ट्रेलियाले दक्षिण अमेरिकी राष्ट्र पेरुसँग खेल्नेछ। जोर्डन एसियन कप छनोटमा नेपाल रहेको समूह ‘ए’ मा रहेको छ।