काठमाडौँ - पूर्वप्रशिक्षक बोरिस बेकरलाई जेलमा देख्दा आफूलाई नराम्रो महशुस भएको टेनिस स्टार नोभाक जोकोभिचले बताएका छन्।
बेकरलाई २०१७ मा ठगी गरेको मुद्दामा जेल सजाय सुनाइएको छ। ६ वटा ग्रान्डस्लाम उपाधि जितेका बेकरले सन् २०१४ देखि २०१७ सम्म करिब ३ वर्ष जोकोभिचलाई प्रशिक्षण दिएका थिए। यो अवधिमा जोकोभिचले ६ वटा ठूला उपाधि जितेका थिए। जोकोभिचले बोरिससँग २०१६ मा आफ्नो करिअरको पहिलो फ्रेन्च ओपन जितेका थिए।
जोकोभिचले भने, ‘उहाँलाई यो अवस्थाबाट गुज्रिएको देख्दा मेरो हृदय टुट्यो। उहाँ सधैं म र मेरो परिवारसँग धेरै हुनुहुन्छ। हाम्रो वर्षौंदेखि धेरै राम्रो सम्बन्ध थियो र हामी सँगै छौं। म उहाँको एक छोरा नोआसँग सम्पर्कमा छु र मैले कसरी मद्दत गर्न सक्छु भनेर सोधेको छु, मलाई आशा छ कि उहाँ स्वस्थ र बलियो रहनुहुन्छ।’
फरक प्रशंगमा जोकोभिचले अर्को वर्ष अस्ट्रेलियन ओपन खेल्न चाहेको पनि बताएका छन्। यो वर्षको सुरुमा उनलाई कोरोनाविरुद्धको खोप नलागेको भन्दै अस्ट्रेलियाबाट निस्काशित गरिएको थियो।