काठमाडौँ - ब्राजिलले समूह चरणको अन्तिममा हुने क्यामरुनसँगको खेलपछि नेयमारको विषयमा निर्णय गर्ने भएको छ।
सर्बिया विरुद्धको पहिलो खेलमा घाइते भएका नेइमार समूह चरणको बाँकी २ खेलबाट बाहिरिएका थिए। नेइमारसँगै डानिलो र एलेक्स सान्ड्रो पनि चोटका कारण क्यामरुन विरुद्ध खेल्ने छैनन्।
‘उनीहरुको अवस्था सुधार हुँदैछ’, ब्राजिलका सहायक प्रशिक्षक क्लेबर जाभिएरले बिहीबार भने, ‘हामी अहिले क्यामरुन विरुद्धको खेलमा केन्द्रित छौँ र त्यसपछि यी खेलाडीको बारेमा निर्णय गर्न सुरु गर्नेछौँ। हामीले उनीहरुको पुनरागमन बारेमा योजना बनाइसकेका छौँ।’
यद्यपी जाभिएरले त्यस योजनाबारे धेरै खुलाएनन्। ब्राजिलका टिम डाक्टरले नेइमार कहिले फर्कने भन्ने समयसिमा बताएका छैनन्। वा नेयमार फेरि यस विश्वकपमा मैदान फर्कने नपर्कने समेत केही टुङ्गो छैन।
समूह जीमा यसअघि दुवै खेल जित्दै अन्तिम १६ मा पुगिसकेको ब्राजिलले क्यामरुन विरुद्ध बराबरी खेलेमा समूह विजेता बन्नेछ। नेयमारले यसअघि सन् २०१४ मा घरेलु मैदानमा भएको विश्वकपमा क्वाटरफाइनलमा कोलम्बिया विरुद्ध घाइते हुँदै बाँकी खेल गुमाएका थिए।
यस्तै चोटकै कारण २०१९ को कोपा अमेरिका फुटबल गुमाएका थिए भने २०१८ मा रुसमा भएको विश्वकपमा पनि पूर्ण रुपमा फिट थिएनन्।