काठमाडौँ - खानेपानी मन्त्रालयले राष्ट्रिय खानेपानी, सरसफाइ तथा स्वच्छता नीति तयार गर्ने भएको छ। मन्त्रालयले तयार गरेको नीतिको मस्यौदाका लागि सुझाव सङ्कलन गरिरहेको छ। खानेपानीमन्त्री उमाकान्त चौधरीले सो नीतिमा विपन्न र पिछडिएका वर्गसम्म शुद्ध, स्वच्छ र सुरक्षित पानी कसरी पु-याउने भन्नेबारे स्पष्ट व्यवस्था तथा विधि तय गरिने बताए।
उनले सहरी क्षेत्रमा बढ्दै गएको जनघनत्व र जलवायु परिवर्तनबाट खानेपानीका मुहानमा परेको प्रभाव चुनौतीपूर्ण बन्दै गएको बताउँदै भने “पहाडका मुहान सुक्ने र तराईमा पानीको सतह घट्ने क्रम जारी छ। यसको प्रभावलाई कसरी कम गर्ने भन्नेबारे नीतिले मार्ग निर्देश गर्नेछ।”
मन्त्री चौधरीले खानेपानी मौलिक हकका रूपमा व्यवस्था गरिएकाले न्यूनतम खपतलाई निःशुल्क गर्ने तयारी भइरहेको समेत जानकारी दिए। मन्त्रालयले खानेपानी नीतिमै गरिब, निमुखा, दलित र विपन्न परिवारलाई समेत कसरी सर्वसुलभ रूपमा शुद्ध खानेपानी पु-याउने भन्नेबारे अध्ययन भइरहेको जनाएको छ । यो समाचार गोरखापत्र दैनिकमा छ।