सुर्खेत - सुर्खेतको वीरेन्द्रनगरमा लागेको निषेधाज्ञा हटेको छ। जिल्ला प्रशासन कार्यालय सुर्खेतले वीरेन्द्रनगरमा लगाइएको निषेधाज्ञा आज बिहान ६ बजेदेखि हटाएको जनाएको छ।
निषेधाज्ञा हटेसँगै जनजीवन सामान्य बन्न थालेको छ। गएको मङ्गलवार बेलुकी ७ बजेदेखि वीरेन्द्रनगरका मङ्गलगढी चोक, एरिचोक, हटिया चोक, हटिया लाइन क्षेत्रमा निषेधाज्ञा लगाइएको थियो। वीरेन्द्रनगरमा लगाइएको कर्फ्यु हटाएर निषेधाज्ञा लागू गरिएको थियो ।
गएको सोमवार एमसीसीको विरोधमा विभिन्न पार्टीले आह्वान गरेको बन्दका क्रममा वीरेन्द्रनगर तनावग्रस्त बन्दै गएपछि त्यही दिन राति सवा ८ बजेदेखि मङ्गलवार बेलुकी ७ बजेसम्म कर्फ्यु लगाइएको थियो। कर्फ्यु हटाएर सुरक्षाका दृष्टिकोणले संवेदनशील क्षेत्रमा निषेधाज्ञा लगाइएको थियो।