नवौँ राष्ट्रिय प्रतियोगीताका लागि सितोरियो करातेको छनाेट खेल सुरु

खोटाङ - नवौँ राष्ट्रिय प्रतियोगीताका लागि खोटाङमा सितोरियो करातेको छनाेट खेल सुरु भएको छ। नवौँ राष्ट्रिय खेलकुद प्रतियोगीता-२०७९ अन्तर्गत जिल्लास्तरीय छनौट प्रतियोगिता एवम् चौथो जिल्लास्तरीय कराते प्रतियोगिता सुरु भएको हो।

जिल्ला खेलकुद विकास समितिको कबर्डहलमा २ दिनसम्म सञ्चालन हुने प्रतियोगीता बुधबार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराई र प्रमुख जिल्ला अधिकारी सुर्यप्रसाद सेडाईले उद्घाटन गरेका छन्।

प्रदेशस्तरीय प्रतियोगितामा सहभागी हुने खेलाडी छनाेटका लागि नेपाल सितोरियो कराते संघसँगको सहकार्यमा जिल्ला खेलकुद विकास समितिले प्रतियोगीता आयोजना गरेको हो। प्रदेश स्तरीय प्रतियोगीताका लागि खोटाङबाट सितोरियो करातेका २९ जना खेलाडी छनाेट हुनेछन्। एकैदिनमा प्रतियोगिता नसकिएका कारण छनाेट हुने खेलाडीको अन्तिम परिणाम बिहीबार मात्र टुंगो लाग्नेछ।

जिल्लास्तरिय छनाेट प्रतियोगीताबाट छानिएका खेलाडीले आगामी भदौ १६ गतेदेखि ३० गतेसम्म सञ्चालन हुने प्रदेशस्तरीय प्रतियोगीतामा सहभागी हुन पाउने जिल्ला खेलकुद विकास समितिका प्रमुख लिलाभक्त केसीले बताएका छन्।

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगीताअन्तर्गत खोटाङबाट १४ विधाका खेलाडीले प्रतिष्पर्धा गर्नेछन्। सितोरियो कराते, फुटबल, भलिबल, एथ्लेटिक्स, व्याडमिन्टन, उसु, तेक्वान्दो, बक्सिङ, बुद्धिचाल, टेवलटेनिस, शारीरिक सुगठन, पौडी, भारोत्तलन र सफ्ट टेनिसका १५८ खेलाडी छनौट हुनेछन्। त्यसमध्ये भलिबलका १८, एथ्लेटिक्सका २२ र बुद्धिचालका ४ जना खेलाडी छनाेट भइसकेका छन्।

बिहीबार र शुक्रबार सञ्चालन हुने छनाेट प्रतियोगीताबाट तेक्वान्दोका २२ जना, टेबलटेनिसका ४, फुटबलका ३२ र व्याडमिन्टनका ७ खेलाडी छनाेट हुने खेलकुद विकास समितिले जनाएको छ।

यस्तै, भारोत्तलनका २, उसुका १०, बक्सिङका ३, पौडीका २, शारीरिक सुगठनका १ र सफ्ट टेनिसका २ खेलाडीले प्रदेश स्तरीय खेलमा सहभागी जनाउने केसीले बताएका छन्। नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता पोखरामा असोज २८ गतेदेखि कात्तिक ३ गतेसम्म सञ्चालन हुने छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×