काठमाडौं, २२ मंसिर — राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले देशमा सुशासन कमजोर हुनेबित्तिकै भ्रष्टाचार फस्टाउने चेतावनी दिएका छन्। सोमबार आयोजित १७ औँ राष्ट्रिय मानवअधिकार महाभेला २०८२ तथा ७७ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा बोल्दै उनले भ्रष्टाचार नियन्त्रणका लागि निरन्तर अभियान सुरू गर्न आवश्यक रहेको बताए।
उनका अनुसार भ्रष्टाचार बढ्दा राज्यका संरचनामा बेथिति फैलिन्छ र त्यसको प्रत्यक्ष असर मानवअधिकारमा पर्छ। ‘सुशासन कमजोर भयो भने भ्रष्टाचार स्वाभाविक रूपमा बढ्छ, र बेथिति बढेपछि मानवअधिकार ओझेलमा पर्छ,’ अध्यक्ष मगरले भने।
मगरले नेपालमा जेन–जी मुभमेण्टले सकारात्मक परिवर्तनको नयाँ आयाम थपेको पनि उल्लेख गरे। उनले संविधानले छुवाछुत अन्त्य गरिसके पनि सामाजिक व्यवहारमा अझै पूर्ण रूपमा कार्यान्वयन हुन नसकेको औंल्याए।
उनले सुशासन मजबुत बनाएर मात्रै भ्रष्टाचार कम गर्न सकिने भन्दै सबै पक्ष गम्भीर हुनुपर्नेमा जोड दिए।