काठमाडौं । मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन आज धान्य पूर्णिमा, उधौली र योमरी पूर्णिमा मनाइँदै छ । धान्य पूर्णिमाको अवसरमा आज धानको विधिपूर्वक पूजा आजा एवं दान गरिँदैछ ।
धान भित्र्याएपछि शुक्ल पूर्णिमामा धान, गणेश, कुलदेवता, गैडु देवता, गोठ देवता, महारुद्र, महालक्ष्मीलगायत देवताको पनि पूजा गरी नयाँ भित्रिएको धान कुटेर चामल बनाउने त्यसबाट पीठो पिँधेर सेल, बाबर, पुरी मालपुवा बनाएर चढाउने परम्परा छ । यसअघि नवअन्नप्राशन नगरेकाले आजै नवान्नप्राशन गर्नुपर्ने धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमको भनाइ छ । यस अवसरमा काभ्रेपलाञ्चोकको धनेश्वर, भक्तपुरको अनन्तलिङ्गेश्वर, चम्पादेवीलगायत स्थानमा मेलासमेत लाग्दछ ।
यता काठमाडौं उपत्यकाका नेवार समुदायले नयाँ धान भित्र्याएको खुसीयालीमा आज योमरी पूर्णिमा हर्षोल्लासका साथ मनाउँदैछन् । योमरी पूर्णिमालाई योमरी पुन्हिः पनि भनिन्छ । नेवार समुदायको ठूलो चाडका रूपमा मनाइने यस चाडलाई खाद्य पदार्थको रसिलो चाडको रूपमा पनि लिइन्छ । योमरी नयाँ धानबाट बनेको चामलको पिठो, चाकु र तिलबाट बनाइन्छ । बिहान सबेरैदेखि घरका महिलाहरुले नुहाइधुवाइ र घर लिपपोत गरेर योमरी पकाइने प्रचलन छ । नेवार समुदायले पनि आज धान राख्ने भकारी वा कोठीमा पूजा आराधना गर्ने गर्दछन् ।
यस्तै आजै याक्खाको चासुवा, सुनुवारको फोलस्यादर, राईको उधौली सकेला र लिम्बुहरूको चासोक तङनाम पर्व पनि धुमधामसँग मनाइँदैछ । नेपालका किराँत समुदायले आज संयुक्त रूपमा उधौली सकेला पर्व मनाउँछन् । किरात समुदायले यस दिन आफूले लगाएको अन्नबाली पाकेपछि आफ्नो इष्टदेवतालाई चढाउने, खानका लागि अनुमति माग्ने तथा पितृलाई स्मरण गर्ने गर्दछन् । यसैबीच सरकारले आज देशैभर सार्वजनिक विदा दिएको छ ।